आईसीसी महिला टी–२० विश्वकपको खेल तालिका सार्वजनिक



काठमाडौँ ।

आईसीसी महिला टी–२० विश्वकप २०२६ को पूर्ण खेल तालिका सार्वजनिक गरिएको छ। आईसीसीले बुधबार दुई समूहसहितको खेल तालिका सार्वजनिक गरेको हो । आगामी वर्ष जुन–जुलाईमा आयोजना हुने प्रतियोगिताको समूह १ मा सर्वाधिक च्याम्पियन अस्ट्रेलिया, सन् २०२४ की फाइनलिस्ट दक्षिण अफ्रिका, एसियाली पावरहाउस भारत र पाकिस्तानसहित ग्लोबल क्वालिफायरबाट आएका दुई टिम छन् ।

समूह २ मा आयोजक इंग्ल्यान्ड, साविक विजेता न्युजिल्यान्ड, श्रीलंका, पूर्वविजेता वेस्ट इन्डिज र बाँकी दुई क्वालिफायरबाट आएका टिमहरू समावेश हुनेछन् । उद्घाटन खेलमा आयोजक इंग्ल्यान्डले जुन १२ मा एजबास्टन मैदानमा श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ । दुवै समूहबाट शीर्ष दुई टिम सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

सेमिफाइनल खेलहरू जुन ३० र जुलाई २ मा लन्डनस्थित ओभल मैदानमा हुनेछ भने फाइनल खेल जुलाई ५ मा ऐतिहासिक लड्र्स मैदानमा आयोजना हुनेछ । २४ दिनसम्म चल्ने प्रतियोगितामा ३३ खेलहरू हुनेछन्, जसका लागि इंग्ल्यान्डका सात प्रमुख मैदानहरू – एजबास्टन, ह्याम्पशायर बाउल, हेडिङ्ले, ओल्ड ट्राफोर्ड, ओभल, ब्रिस्टल काउन्टी ग्राउन्ड र लड्र्स छनोट गरिएको छ ।

ग्लोबल क्वालिफायरमा नेपाली महिला क्रिकेट टोली पनि खेल्दै छ । गत महिना भएको एसिया छनोट पार गर्दै नेपाली टोली पहिलोपटक ग्लोबल छनोटमा पुगेको थियो । ग्लोबल क्वालिफायरबाट ४ टोली विश्वकपमा पुग्ने प्रावधान छ । यसपटकको महिला टी–२० विश्वकपमा पहिलो पटक १२ टिम सहभागी हुँदैछन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार ५ गते बिहीबार