प्रचण्ड खत्री । रूकुम पश्चिम ।
नेपाल वायु सेवा निगमले रूकुम पश्चिमको सल्ले विमानस्थलमा उडान थप गरेको छ । यसअघि हप्तामा काठमाडौँ र नेपालगन्ज एक÷एक उडान गर्दै आएकोमा अब दुई उडान हुन थालेको छ । नेपाल वायु सेवा निगम रूकुम शाखाका प्रमुख प्रेम ओलीका अनुसार यात्रुको चापपछि उडान थप भएको हो । अबदेखि रूकुम पश्चिमबाट हप्तामा दुई दिन नेपालगन्ज र दुई दिन काठमाडौँको लागि उडान तालिका कायम गरिएको छ ।
प्रमुख ओलीले अब आइतबार र बिहीबार काठमाडौँ–रूकुम–नेपालगन्ज र मंगलबार र शुक्रबार नेपालगन्ज–रूकुम–काठमाडौँ उडान हुने प्रमुख ओलीको भनाइ छ । यसअघि हप्तामा एउटा मात्र उडान हुँदा टिकटका लागि समस्या हुने गरेको थियो । काठमाडौँ उडान भएकै दिन अर्को हप्ताको लागि काठमाडौँको टिकट पनि बिक्री भइसक्ने गरेको थियो ।
यसका साथै टिकटकै लागि कार्यालयमा यात्रुहरू लाइन लाग्नुपर्ने अवस्था रहेको थियो । अब भने चाप कम हुने निगमले जनाएको छ ।
निगमको केन्द्रीय, क्षेत्रीय र जिल्लास्थित कार्यालयबाट र अनलाइनबाट समेत टिकट लिन सकिने व्यवस्था रहेको कार्यालयले जनाएको छ । प्राविधिक कारणबाहेक अहिले उडान तालिकाअनुसार नै जहाज आउने गरेको बताइएको छ । मंगलबार मात्रै यसअघि रद्ध भएका दुई उडान भएका छन् ।
सोमबारदेखि भाडादरसमेत केही घटेको निगमका शाखा प्रमुख ओलीले जानकारी दिए । हाल रूकुमबाट नेपालगन्जको लागि चार हजार ५०३ रूपैयाँ ६० पैसा र काठमाडौँको लागि नौ हजार ९७८ रूपैयाँ ४५ पैसा भाडादार कायम रहेको छ । यसअघि रूकुमबाट नेपालगन्जका लागि चार हजार ५३७ र काठमाडौँका लागि १० हजार ८० रूपैयाँ भाडादर रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्