कैलाली,कैलालीको धनगढीमा भएको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सीवाईसी अत्तरियाले जितेको छ । धनगढीको फाप्ला मैदानमा सोमबार भएको फाइनल खेलमा फ्रेन्ड्स क्लब डडेल्धुरालाई ३४ रनले पराजित गर्दै अत्तरियाले उपाधि जितेको हो । उपाधिसँगै अत्तरियाले नगद १० लाखसहित ट्रफी प्राप्त गरेको छ । डडेल्धुराले नगद ५ लाखमा चित्त बुझाएको छ । सीवाईसी अत्तरिया धनगढी प्रिमियर लिग–३ को पनि विजेता हो ।
फाइनलमा अत्तरियाले दिएको १ सय १९ रनको लक्ष्य पछ्याएको डडेल्धुरा १८ ओभरमा ८४ रनमा समेटियो । डडेल्धुराका लागि गजेन्द्र बोहराले २४, कुशल भुर्तेलले २० र अशोक धामीले ११ रन बनाए । डडेल्धुराका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । अत्तरियाका शहाव आलम र दिपेश कँडेलले तीन–तीन विकेट लिए । कमल गुप्ता र विवेक यादवले दुई–दुई विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको अत्तरियाले २० ओभरमा नौ विकेटको क्षतिमा १ सय १८ रन बनाएको थियो । अत्तरियाका लागि रासिद खानले ३१ रन बनाए । यस्तै, सन्तोष कार्की र शंकर रानाले समान २०–२०, सन्दीप क्षेत्रीले १२, विवेक यादवले ११ र भीम सार्कीले १० रन बनाए । डडेल्धुराका लागि अभिषेक गौतमले चार विकेट लिए । यस्तै, अजय चौहान र कुशल भुर्तेलले एक–एक विकेट लिए । अत्तरियाका तीन खेलाडी रन आउट भएका थिए । अत्तरिया प्रतियोगिताभर अपराजित रहदै च्याम्पियन बनेको हो ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद १ लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदीयमान खेलाडीले जनही ५०–५० हजार प्रदान गरिने आयोजक गो ड्रिमर्सले जनाएको छ ।
झलारीका ललित ऐरले जिते एक लाख
क्रिकेटको सहर धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा कन्चनपुरको झलारीका ललित ऐरले नगद १ लाख पुरस्कार जितेका छन् ।
सोमबार भएको फाइनल खेलमा छक्का प्रहार भएको बललाई समातेका ललितले ब्रेड बक्सको तर्फबाट नगद एक लाख प्राप्त गरेका हुन् ।
ब्रेड बक्सले फाइनल खेलमा प्रहार भएको छक्का समात्ने पहिलो दर्शकलाई नगद एक लाख पुरस्कार घोषणा गरेको थियो । यस्तै, अन्य छक्का प्रहार भएको बलमा पनि क्याच गरेमा प्रति क्याच १० हजार घोषणा गरिएको थियो ।
फाइनल खेलमा ललितले दोस्रो क्याच गरेका हुन् । यसअघि आइतबार भएको सेमिफाइनलमा पहिलो क्याच गर्दै बैतडीका हरिश भाटले ५० हजार पुरस्कार पाएका थिए ।
कन्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ का ललित ऐर आज भएको फाइनल खेल हेर्नका लागि चार जना काकाहरूसँगै फाप्लामा पुगेका थिए । चन्द सूर्य सेकेन्डरी स्कुलमा कक्षा १२ मा पढिरहेका उनले पाएको एक लाख पढाइमा लगानी गर्ने बताएका छन् ।









प्रतिक्रिया दिनुहोस्