‘बैकुण्ठधाम’ निर्माणार्थ महायज्ञ



उद्घाटनका दिनसम्म ५० लाख रुपैयाँभन्दा बढी रकम संकलन भएको छ । बैकुण्ठधाम निर्माणका लागि दान गर्न चाहनेहरूका लागि महोत्सवस्थलमा क्युआर, नगदी रसिद र बैंक खाता उपलब्ध गराइएको छ । १० लाखभन्दा बढी दान गर्ने व्यक्तिलाई रथारोहण गराइने आयोजकले जनाएको छ ।

नेपालगन्ज ।

नेपालगन्जमा बिहीबारबाट श्रीमद्भागवत ज्ञान कथा यज्ञ सुरु भएको छ । बाँकेको डुडुवा गाउँपालिका–५ मा रहेको राप्ती नदीको सिधनियाँघाटमा हिन्दु धार्मिक संस्कारअनुसारको व्यवस्थित अन्तिम संस्कारस्थल निर्माणका लागि बीउपुँजी संकलन गर्ने उद्देश्यले उक्त यज्ञ आयोजना गरिएको हो ।

बैकुण्ठधाम आध्यात्मिक महोत्सव नाम दिइएको उक्त यज्ञमा श्रीमद्भागत कथा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेल प्रमुख वाचक रहेका छन् । नेपालगन्जको रामलीला मैदानमा आयोजित उक्त महोत्सव कात्तिक ३० गतेसम्म सञ्चालन हुनेछ ।

पण्डित पोखरेलले पानसमा दियो बालेर यज्ञको उद्घाटन गर्नुपूर्व नेपालगन्जमा शोभा कलश यात्रा निकालिएको थियो । यज्ञस्थलदेखि झाँकीसहित निस्केको शोभा कलशयात्रा भेरी अस्पताल, गणेशमान चोक, बीपी चोक, धम्बोझी, सेतु बिक चोक हँुदै त्रिभुवन चोक, रानी तलाउ हुँदै पुनः रामलीला मैदानमा पुगेपछि यज्ञको उद्घाटन गरिएको थियो । कलशयात्रामा विभिन्न धार्मिक तथा सांस्कृतिक संगठनको सामूहिक प्रतिनिधित्वदेखि स्वतःस्फुर्त प्रतिनिधित्व रहेको थियो ।

बिहीबारै छठपर्व परेका कारण अधिकांश महिलाहरू व्रतालु रहेकाले कलशयात्रामा उल्लेख्य सहभागिता भने नदेखिएको सहभागीहरूले बताए । कलश यात्रामा पञ्चेबाजा, हुड्केली नाच, सल्यानी नाचलगायतका सांस्कृतिक टोलीहरू प्नि सहभागी थिए ।

महोत्सवमा शुक्रबारबाट पण्डित पोखरेलले श्रीमद्भागवत कथावाचन सुरु गर्नेछन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पण्डित पोखरेलले मृत्यु जीवनको अन्तिम सत्य भएकाले उक्त सत्यलाई सहज र सम्मानपूर्ण बनाउनुपर्ने बताए ।

वैकुण्ठधामको परिकल्पना मृत्युलाई सम्मानजनक बनाउनका लागि गरिएको उनको भनाइ छ । अन्तिम संस्कारस्थलको रूपमा व्यवस्थित घाटको परिकल्पना सबैको सरोकारको विषय भएकाले अभियानमा गच्छेअनुसारको सहभागिता आवश्यक रहेको उनले बताए । धाम पश्चिम नेपालकै आर्यघाट बन्ने विश्वास पनि पण्डित पोखरेलले व्यक्त गरे ।

पण्डित पोखरेलले आफ्नो कथा प्रवचनमा भागवत मात्रै नभएर सबै धर्मका सारभूत कुराको मर्म आउने र अध्यात्मलाई विज्ञानसँग जोडेर कथावाचन गर्ने गरेको बताए । उनले महोत्सवले धार्मिक तथा साम्प्रदायिक सद्भावलाई बलियो बनाउने विश्वास पनि व्यक्त गरे । पोखरेलले आफ्नो लक्ष्य आध्यात्मिक दर्शनलाई युवाहरूसम्म पु¥याउनु रहेकाले युवाहरूलाई महोत्सवमा सहभागी हुन आग्रह गरे ।

उद्घाटन कार्यक्रममा सनातन परम्पराका विभिन्न धर्मगुरु तथा अगुवाहरू, राजनीतिक दलका प्रतिनिधि र जनप्रतिनिधिहरूको सहभागिता थियो । कार्यक्रममा प्रतिनिधिसभा सदस्यहरू सूर्य ढकाल, दीपा शर्मा, लक्ष्मी तिवारी प्रदेश सभा सदस्य रत्न खत्री, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, कोहलपुर नगरपालिकाकी उपप्रमुख संगीता सुवेदीलगायतका जनप्रतिनिधहरू सहभागी थिए । तर, सिधनियाँघाट निर्माणस्थल डुडुवा गाउँपालिकाका अध्यक्ष तथा प्रतिनिधिहरू भने सहभागी भएनन् । कलशयात्रामा सिधनियाँघाट निर्माणस्थल क्षेत्रबाट पनि स्थानीयहरूको सहभागिता देखिएन ।

कार्यक्रममा बोल्दै प्रतिनधिसभा सदस्यद्वय शर्मा र तिवारीले सरकारका तर्फबाट बैकुण्ठधाम सिधनियाँघाट निर्माणमा बजेटको व्यवस्थाका लागि पहल गर्ने बताए । प्रदेश सभा सदस्य खत्रीले प्रदेश सरकारको गौरवको आयोजना बनाउन पहल गर्ने बताए । खत्रीले बैकुण्ठधामलाई दाहसंस्कारस्थलमा मात्र सीमित नराखेर धार्मिक पर्यटकीयस्थलका रूपमा विकास गर्न सकिने बताए ।

कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल, नेपालगन्ज उपमहानगर प्रमुख प्रशान्त विष्ट, कोहलपर नगरपालिका उपप्रमुख संगीता सुबेदीले पनि बैकुण्ठधाम निर्माणमा आफ्नो सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।

महोत्सव आयोजक मूल समितिका कोषाध्यक्ष कृष्णप्रसाद श्रेष्ठले यज्ञमा हरेक दिन दाताहरूबाट प्राप्त भएको दानलाई सार्वजनिक गरिने बताएका छन् । यज्ञ उद्घाटनका दिनसम्म ५० लाख रुपैयाँ बढी रकम संकलन भइसकेको उनले जानकारी दिएका छन् । उनले बैकुण्ठधाम निर्माणका लागि दान गर्न चाहनेहरूका लागि महोत्सवस्थलमा क्युआर, नगदी रसिद र बैंक खाता उपलब्ध गराइएको जानकारी दिएका छन् ।

दाताहरूलाई रकम अनुसारको सम्मानको खाका बनाइएको छ । १० लाखभन्दा बढी दान गर्ने व्यक्तिलाई रथारोहणको खाका बनाइएको छ ।
महोत्सव अवधिको हरेक दिन बिहान ५ बजेदेखि ६ः३० बजेसम्म योगा, ७ बजेदेखि १० बजेसम्म पूजाअर्चना र पाठपारायण, ११ बजेदेखि ४ः३० बजेसम्म झाँकीसहित संगीतमय भागवत कथा प्रवचन, ४ः३० बजे आरती र पुष्पाञ्जली, ७ः१५ देखि ९ बजेसम्म भजन कीर्तनसहितको श्रीमद्भागवत महात्म्य वाचन हुने कार्यक्रम तालिका बनाइएको छ । महोत्सवका बीचमा इच्छुक व्यक्तिहरूले व्रतबन्ध, लाखबत्ती प्रज्ज्वलन, तुलादान, भूमिदान, गौदान, चौरासीपूजा गर्न गराउन सक्ने व्यवस्था पनि मिलाइएको छ ।

हालसम्म बैकुण्ठधामको योजनामा अग्निदाहस्थल, विद्युतीय शवदाह गृह, मलामीका लागि ओत लाग्ने ठाउँ, शिवालय, किरियापुत्री कक्ष, पितृको मृत्युकर्म, सोह्रश्राद्ध, पितृ मोक्ष कर्मकाण्डलगायतका कार्य गर्नका लागि संरचना परिकल्पना गरिएको छ । निर्माणस्थलको वातावरणीय परीक्षण र डीपीआरलगायतका काम हुन बाँकी नै छन् । निर्माणस्थलका लागि १४ कठ्ठा जग्गा किन्न जग्गधनीलाई बयाना भने बुझाइसकेको आयोजकको भनाइ छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ कात्तिक २३ गते शुक्रबार