हराउँदै चङ्गा उडाउने चलन



चङ्गा उडाउने चलन क्रमशः हराउँदै जान थालेका बेला नेपालगन्जका एक युवा प्रवीन सुजालीले चङ्गा उडाउने प्रतिस्पर्धाको आयोजना गरेका छन् । यही असोज २४ र २५ गते नेपालगन्जको राँझामा चङ्गा उडाउने कार्यक्रम आयोजना गर्न लागिएको छ । ‘हामीले यो चलनलाई हराउन दिनुहुँदैन भनेर यो कार्यक्रम राखेका हौँ,’ सुजालीले भने, ‘यो कार्यक्रममा पुरस्कारको व्यवस्था त छैन । तर सहभागी सबैलाई निःशुल्क चङ्गा, चर्खा तथा मञ्झा उपलब्ध गराउनेछौँ ।’

नेपालगन्ज ।

चङ्गा तथा खेलौना व्यापारीहरूको व्यापार ओझेलमा परेको छ । नेपालगन्जका केही खेलौना तथा चङ्गा व्यापारीहरूले व्यापार ओझेलमा रहेको दुखेसो पोखेका छन् । मनोरञ्जन तथा संस्कृतिसँग जोडिएको चङ्गा र खेलौनाको व्यापार घट्दै गएपछि व्यापारीहरू निराश बनेका छन् । बालबालिका तथा युवाहरूले उत्साहका साथ खेल्ने तथा उडाउने यी सामग्रीहरू अहिले बजारमा सहज रूपमा उपलब्ध हुँदासमेत बिक्री हुन छाडेको व्यापारीहरूको गुनासो छ ।

एक्लैनीको मुसाफिर खानास्थित राजकुमार गुप्ताको खेलौना पसलमा दिनभरिको आम्दानी ५ देखि ७ सय रहेको छ । राजकुमारले पहिले जस्तो खेलौना र चङ्गाको व्यापार नरहेको बताए । उनले भने, ‘हामी दिनभर कुरुवा मात्र भएका छौँ । अहिलेका बालबालिका तथा युवाहरूमा मनोरञ्जनको उत्साह छैन ।’

त्यस्तै, शाह कैट्स सपका सञ्चालक शाकिर अलीले पनि चङ्गा उडाउनका लागि अहिलेका युवाहरूमा कुनै उत्साह नदेखिएको बताए । शाकिरले भने, ‘आजभन्दा ४–५ वर्ष अघिसम्म चङ्गा उडाउनेहरूको लहर हुन्थ्यो तर अब त्यस्तो छैन । बालबालिका प्रायः मोबाइलमै सबै गेम खेल्न पाउँछन् । त्यसैले चङ्गा उडाउने खासै मान्छे अब छैनन् ।’

पछिल्लो वर्ष २५ सयजति चङ्गा ल्याएकोमा बढीमा ७ सयजति मात्र बिकेको उनले जानकारी दिए । चङ्गा नबिकेपछि चर्खा, मञ्झा र धागो बिक्री हुने कुरै भएन । शाकिरका अनुसार चङ्गा उडाउन कुनै उमेरले छेक्दैन । तर पनि अब त्यस्तो चङ्गा उडाउने उत्साह कसैमा देखिन्न । उनको अनुभवमा दैनिक २ हजारदेखि २५ सयसम्म व्यापार त केवल चङ्गा र धागोबाट मात्र हुन्थ्यो । अहिले त दिनको ५ सय पनि पुग्न गाह्रो रहेको शाकिरको भनाइ छ ।

त्यस्तै, नेपालगन्ज वडा नम्बर ६ बस्ने सन्तोष गुप्ताले समेत चङ्गा, चर्खा र मञ्झाहरू बिक्री हुन छोडेपछि आफूले राख्न छोडेको जानकारी दिए । उनले भने, ‘चङ्गा ल्याएपछि धेरै ख्याल गर्नुपर्छ । जोगाएर राख्नुपर्छ । कहिले मुसोले काट्ने कहिले बच्चाहरूले जाँच गर्दा टुट्ने जोखिम हुन्छ । नाफाजति सब त्यस्तै जान्छ ।’ पहिलाभन्दा बिक्री पनि घटेकाले चङ्गा राख्नै छोडिदिएको उनले बताए ।

केही युवाहरूसँग संवाद गर्दा युवाहरूले कार्यव्यस्तताका कारण चङ्गा उडाउने समय नभएको जबाफ दिए । ‘पहिला मोबाइल थिएन । कामबाट आयो चङ्गा उडाउने खेल्ने गरिन्थ्यो,’ नेपालगन्जका एक युवा इर्शाद मेकरानीले मिसन टुडेसँग भने, ‘तर अब मोबाइलमै व्यस्त भइन्छ । चङ्गा उडाउनेतिर ध्यानै जाँदैन ।’

तर नेपालगन्जमा एकादुई स्थानमा चङ्गा उडाउनेहरू पनि नदेखिने भने होइनन् । स्थानीय बस्ने सुनील खत्रीले चङ्गा खरिद गर्दैगर्दा चङ्गा उडाउने होडबाजी र उत्साहलाई फेरि ल्याउनुपर्ने बताए । उनले भने, ‘चङ्गा मौसमी मनोरञ्जन हो । गर्मीको समयमा प्रायः चङ्गा उडाउने गरिन्छ । तर आजकल केवल पर्वको बेला शुभ होस् भन्नलाई मात्र उडाउने चलन छ । यसलाई हामीले लोप हुन दिनुहुँदैन ।’

एक युवा प्रवीन सुजालीले चङ्गा प्रतिस्पर्धा तथा मनोरञ्जन कार्यक्रम गर्न लागेको बताए । उनले यही असोज २४ र २५ गते नेपालगन्जको राँझामा चङ्गा उडाउने कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिए । ‘चङ्गा उडाउने चलन हराउँदै गएको छ । त्यो उत्साह र होडबाजी कम हुँदै गएको छ । हामीले यो मनोरञ्जनका श्रोतहरूलाई गुमनाम बनाउनु हुँदैन,’ उनले भने, ‘त्यसैले हामीले चङ्गा उडाउने तथा मनोरञ्जन गर्ने कार्यक्रमको आयोजना गर्न लागेका हौँ । यो कार्यक्रममा इनामको व्यवस्था त छैन । तर सहभागी सबैलाई निःशुल्क चङ्गा, चर्खा तथा माञ्झा उपलब्ध गराउनेछौँ ।’

अहिले बजारमा एउटा चङ्गा १० देखि २५ रुपैयाँँसम्म पाइन्छ । चर्खाको मूल्य २ सयदेखि २ सय ६० र धागो माञ्झाको मूल्य गोला अनुसार हुन्छ । सानो गोला १ सय जतिपर्छ भने ठूलोलाई ३ सयसम्म पर्ने गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ असोज २२ गते मंगलबार