मधुर पौडेल । बाँसगढी ।
स्थानीय तहका कर्मचारीलाई निजामती कर्मचारीमा नसमेटिएको भन्दै निजामती दिवस मनाउन आवश्यक नरहेको बाँसगढी नगरपालिका कार्यरत कर्मचारीले बताएका छन् ।
उनीहरूले बिहीबार संयुक्त विज्ञप्ति जारी गरी स्थानीय तहका कर्मचारीहरूको सेवा सुविधा, वृत्तिविकास तथा अधिकारलगायतमा विभेदपूर्ण मस्यौदा तयार भएको उनीहरूले बताए ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट ७ सय ५३ स्थानीय तहलाई परिपत्र गरेको सन्दर्भमा स्थानीय तहमा कार्यरत कर्मचारीहरूलाई निजामती कर्मचारीको परिभाषाभित्र नसमेटिएको विज्ञप्तिमा उल्लेख छ ।
स्थानीय तहका कर्मचारीहरूले प्राकृतिकरूपमा समेत निजामती सेवा दिवस मनाउन उपयुक्त नदेखिएकाले भाद्र २२ गते मनाइँदै आएको निजामती सेवा दिवस बाँसगढी नगरपालिकामा कार्यरत कर्मचारीहरूले बहिष्कार गर्दै विरोध स्वरूप कालो पट्टी बाध्ने निर्णय गरेका छन् ।
साथै उनीहरूले संघीय निजामती सेवा ऐन नभई एकीकृत निजामती सेवा ऐन ल्याउनु पर्ने, स्थानीय तहका कर्मचारीहरूलाई समेत निजामतीको परिभाषामा समेटिनुपर्ने, कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम समायोजन भएका कर्मचारीहरूको सन्दर्भमा एकपटकका लागि समायोजनलाई पुनरावलोकन गरिनुपर्नेलगायतका विभिन्न मागहरू अघि सारेका छन् ।









प्रतिक्रिया दिनुहोस्