बाँके ।
दशैँभन्दा अगाडि नै पूर्व पश्चिम र रत्न राजमार्गको बाँके खण्ड मर्मत गरिसक्न सामाजिक सरोकार मञ्च कोहलपुरले आग्रह गरेको छ ।
नेपालगन्जस्थित सडक डिभिजन कार्यालयमा पुगेर मञ्चका पदाधिकारीहरूले दशैँ अगाडि नै सडक मर्मत गरेर आवतजावत सहज गराउन माग गरेका हुन् ।
वर्षाका कारण सडकमा खाल्डाखुल्डी परेको, ट्राफिक संकेतहरू मेटिएर दुर्घटनाको जोखिम बढेकाले तत्काल सडक मर्मत गर्न आग्रह गरिएको मञ्चका संयोजक राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
‘सडकका खाल्डाखुल्डी यथाशीघ्र मर्मत गर्न र जेब्राक्रस, संकेत बोर्डलगायतका ट्राफिक चिह्नहरू समेत तत्कालै मर्मत गर्न आग्रह गरेका छौँ,’ उनले मिसन टुडेसँग भने, ‘चाडपर्वमा मानिसहरूलाई सहज रूपमा यात्रा गर्ने वातावरण गराउनुपर्छ ।’
बजार क्षेत्रमा समेत जेब्राक्रस संकेत मेटिएको भन्दै संयोजक श्रेष्ठले चाडपर्वमा भीडभाड हुँदा दुर्घटनाको जोखिम हुनसक्ने बताए । सडक डिभिजन कार्यालय नेपालगन्जले सकेसम्म दशैँअगाडि नै सडक मर्मत गर्ने प्रतिबद्धता जनाएको उनले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्