बाँके ।
मनाङको तिलिचो तालभन्दा पनि अग्लो स्थानमा अर्को ताल फेला परेको डोल्पाका जनप्रतिनिधिहरूले दाबी गरेका छन् । डोल्पाको डोल्पोबुद्ध गाउँपालिका–६ फालगाउँमा तिलिचो तालभन्दा पनि अग्लो स्थानमा नयाँ ताल फेला परेको सो पालिकाका जनप्रतिनिधिहरूले दाबी गरेका हुन् ।
तिलिचो ताल समुद्र सतहदेखि ४ हजार ९ सय १९ मिटर उचाइमा छ । सबैभन्दा उचाइमा रहेको तालको रेकर्ड हालसम्म तिलिचोकै नाममा छ ।
तर डोल्पाको फालगाउँमा भेटिएको ताल समुद्र सतहदेखि ५ हजार १ सय ९० मिटर उचाइमा रहेको डोल्पोबुद्ध गाउँपालिका–६ का वडाध्यक्ष नुर्बु डम्डुल गुरुङले दाबी गरे ।
आफूहरूसँग भएको जिपिएस (उचाइ नाप्ने यन्त्र)बाट ताल रहेको स्थानको उचाइ ५ हजार १ सय ९० मिटर मापन गरेको वडाध्यक्ष गुरुङले बताए । उनका अनुसार यो ताल नेपाल–चीनको १५ नम्बर सीमा स्तम्भबाट नजिक पर्दछ ।
डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोख्रेलले डोल्पोबुद्ध गाउँपालिकाका उपाध्यक्ष र वडा नम्बर ६ का वडाध्यक्षसहितको टोलीले तिलिचोभन्दा पनि अग्लो स्थानमा ताल फेला पारेको जानकारी आफूलाई गराए पनि त्यसको आधिकारिकता पुष्टि हुन बाँकी रहेको बताए ।
‘तिन्जे भन्ने ठूलो फाँट छ । त्यहाँबाट दुई घण्टा हिँडेपछि तालमा पुगिन्छ रे ! उहाँहरूले त्यहाँ तीनवटा ताल फेला पा¥र्यौं भन्नुभएको
छ । एउटा ठूलो र दुई वटा स–साना ताल छन् रे !’ प्रमुख जिल्ला अधिकारी पोख्रेलले भने, ‘उहाँहरूले तीमध्ये कुन्ख्येन फालक ताल तिलिचोभन्दा पनि अग्लो स्थानमा छ, प्रचार–प्रसार गर्नुप¥यो भनेर मकहाँ आउनुभएको थियो ।’
आफूले फालगाउँमा पनि ताल छ भन्ने कुरा पहिलोपटक थाहा पाएको भन्दै प्रजिअ पोख्रेलले सरकारको आधिकारिक निकायबाट त्यसको पुष्टि गर्ने प्रक्रिया सुरु गरेको जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्