गबारो कीराबाट बाँकेका किसानलाई धानबाली जोगाउनै मुस्किल



बाँकेमा गबारोे कीराले धानलाई काटिदिएपछि धान खेतमै मर्न थालिसकेको छ । हालसम्म बैजनाथ गाउँपालिका र कोहलपुर नगरपालिकामा ३५ प्रतिशत धानबालीमा गबारोे किरा देखिएको छ । राप्ती सोनारी लगायतका पालिकाहरुमा भने कतैकतै देखिन थालेको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ ।

गणेश रावत । कोहलपुर (बाँके) ।

समयमै पानी नपर्दा बैजनाथ गाउँपालिका– ३ का किसान अनिल थारुले ढिलोगरी यसवर्ष धान रोपे । ढिलोगरी धान रोपेपनि राम्रोसँग नै हुर्किरहेको धानबाली अहिले भने गबारोे कीराका कारण मर्न थालेपछि उनी चितिन्त छन् ।

‘मैले १५ कट्ठा खेतमा लगाएको धान राम्रोसँग नै हुर्किरहेको थियो । अहिले भने गबारोे कीरा लागेर खेतमै धान सुक्न थालेपछि भोकमरीको चिन्ताले सताउन थाल्यो’ थारुले मिसन टुडेसँग भने ।

गबारोे कीराको प्रकोप देखिएसँगै यसवर्ष धान उत्पादन कम हुने चिन्ताले उनलाई सताएको छ । उनीजस्तै कोहलपुर– ६ का किसान सुरेश चौधरी पनि निराश छन् । समयमै पानी नपरेपछि उनले नजिकैको सिक्टा सिँचाई आयोजनाको नहरबाट मोटर लगाएर खेतमा पानी ल्याएर धान रोपेका थिए ।

दुःख गरेर रोपेको धानबाली राम्रोसँग नै हुर्किरहेको बेला गबारोे कीराको प्रकोप देखिएपछि उनी निराश बनेका हुन् । ‘धानबाली राम्रो नै थियो । कहाँबाट गबारोे कीरा आएर सबै नोक्सानी गरिदियो । हामी किसानले कहिल्यै सुख नपाउने भयौं’ चौधरीले भने, ‘२५ कठ्ठामा लगाएको धानमध्ये २० प्रतिशतमा कीराले नोक्सान गरिसक्यो । अझै कती गर्ने हो ।’

कीराले धानबालीमा नोक्सानी गरिदिदा समेत तीनै तहका सरकारहरुले त्यसको रोकथामका लागि कुनै सहयोग नगरेको उनले गूनासो गरे । केही दिनयता बाँकेका सबै पालिकाहरुमा गबारोे कीराको प्रकोप तिव्र रूपमा फैलिरहेको छ । पसाउन लागेको धानबालीलाई गबारोे कीराले काटिदिएपछि किसानहरु समेत निराश छन् । गबारोे कीराले धानलाई काटिदिएपछि धान खेतमै मर्न थालिसकेको छ ।

धानबालीमा सबैभन्दा बढी गबारोे कीराको प्रकोप बैजनाथ गाउँपालिकामा देखिएको कृषि ज्ञान केन्द्र बाँकेका कृषि अर्थ विज्ञ जीवन कुमार के.सीले जानकारी दिए । ‘प्रकोपबाट सबैभन्दा प्रभावित बैजनाथ गाउँपालिका रहेको छ । अन्य पालिकामा क्रमश कीराको असर देखिदैछ’ उनले भने, ‘यस्तै अवस्था रहे सबै पालिकामा गबारोेको प्रकोप देखिन सक्छ ।’

हालसम्म बैजनाथ गाउँपालिका र कोहलपुर नगरपालिकामा ३५ प्रतिशत धानबालीमा गबारोे किरा देखिएको छ । राप्ती सोनारी लगायतका पालिकाहरुमा भने कतैकतै देखिन थालेको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ ।

‘किसानलाई कुन औषधी प्रयोग गर्ने भन्ने जानकारी समेत छैन । त्यसैले गबारोे कीरा देखिएका ठाउँ लगायत अन्य क्षेत्रमा कृषि प्राविधिकहरु पुगेर तत्काल गर्न सकिने प्रयास त गर्नुभएको छ’ विज्ञ के.सीले भने, ‘सकेसम्म कम क्षति होस् भन्नेमा लागिरहेका छौँ । कृषि प्राविधिकहरुको सल्लाह अनुसार नै किसानले धानमा औषधिको प्रयोग गरिरहेका छन् ।’

सकेसम्म औषधिको प्रयोग नगर्ने तर, अन्य उपायबाट कीरा नियन्त्रणमा नआए मात्रै कृषि प्राविधिकको सुझावअनुसार औषधि प्रयोग गर्नुपर्ने उनले बताए । बजेटको नहुँदा किसानलाई औषधि र आर्थिक सहयोग गर्न नसकिएको विज्ञ के.सीले जानकारी दिए ।

‘कीराको प्रकोप देखिएपनि हामीले सल्लाह सुझाव बाहेक अन्य केही सहयोग गर्न सकेका छैनौं । किसानहरुले आफैं औषधि खरिद गरेर प्रयोग गरिरहनुभएको छ’ उनले मिसन टुडेसँग भने, ‘प्रकोप नियन्त्रणका लागि स्थानीय, प्रदेश र संघ सरकारसँग पहल गरिरहेका छौं ।’ यसवर्ष बाँकेका ३६ हजार ५०० हेक्टर क्षेत्रफलमा धान रोपाँई भएको छ ।

गबारोे धानमा लाग्ने एक प्रमुख शत्रुजीव कीरा हो । धानमा गाँज आउनेदेखि लिएर फूल फुल्ने वा बोटको वयस्क अवस्थासम्म यसले आक्रमण गरी वर्षेनी ठूलो क्षति पु¥याउने गरेको छ । कीराको प्रकोप तीव्ररूपमा फैलने भएकाले धानका बोट केही दिनमा नष्ट हुने गरेको छ । धानमा पहेँलो गबारोे, सेतो, छिर्के, गोल्ड–फ्रिन्ज्ड, कालो टाउके छिर्के र कलेजी रङ्गको ट्टट्ट गरी छ किसिमका गबारोे कीराले धानमा आक्रमण गर्ने कृषि विज्ञ बताउँछन् ।

धानको बिरुवा/बेर्ना अवस्थादेखि परिपक्व अवस्थासम्मको धानमा गबारोेले आक्रमण गर्न सक्छ । धान खेतमा रासायनिक मलको कमी, पानीको कमी र सूक्ष्म तत्वको कमीले कीराको सङ्क्रमण सहजै फैलन सक्ने कृषि विज्ञको भनाइ छ ।

  • No tags available
प्रकाशित मिति : २०८० भदौ १७ गते आइतबार