नेपालगन्जः गाईलाई दूध दिदाँसम्म घरमा, छोडेपछि सडकमा



नेपालगन्ज उपमहानगरपालिकाको सिफारिसमा कयौंले काञ्जि हाउसबाट दुधालु गाई लग्छन् । त्यसरी लगेको गाई दुध दिदाँसम्म लगेकाले घरमै राख्छन्, दुध नदिए सडकमै वेवारिसे छाड्ने गरेको भेटिएको छ । ‘हामीले रेखदेख गरेका त्यस्ता गाई फेरी घुम्दै फिर्दै यही आएका छन् ।’ कान्जि हाउसका एक कर्मचारीले भने ।

नेपालगन्ज ।

गाईमाथि हदैसम्म अत्याचार हुने गरेको छ नेपालगन्ज उपमहानगरपालिकाको सिफारिसमा कयौंले नेपालगन्ज–२१ स्थित काञ्जि हाउसबाट दुधालु गाई लग्छन् । त्यसरी लगेको गाई दुध दिदाँसम्म लगेकाले घरमै राख्छन्, दुध नदिए सडकमै वेवारिसे छाड्ने गरेको भेटिएको छ । कान्जि हाउसका कर्मचारी भन्छन्,–‘हामीले रेखदेख गरेका त्यस्ता गाईलाई फेरी घुम्दै फिर्दै यही ल्याएर राखिएका छन् । वेवारिसे छाड्नेले गाई किन लैजानु ?’

कान्जि हाउसका इन्चार्ज राकेश भारतीकाअनुसार करिब ६० गाई गत आर्थिक वर्षमा सर्वसाधारणले लिए । उपमहानगरमा निवेदन दिएपछि उक्त निवेदनका आधारमा आएका सिफारिसलाई हेरेर गाई दिइन्छ । यसरी निवेदन दिनेले दुधालु गाई मात्रै माग्छन् । बलियो र हस्टपुष्ट गाई मात्रै लिएर जान्छन् । ‘दुध दिनसक्ने हेरेर मात्र लैजान्छन् । अरु हेरचाहका लागि लैजाने त को आउँथ्यो होला र ?’– भारतीले भने,–‘यहाँबाट लगेका गाई दुध दिन छाडिसकेपछि सडक हुँदै फेरी कान्जि हाउसमै भेटिएका छन् ।’

कान्जि हाउसका गाईको पहिचान खुल्ने कुनै प्रमाण नहुने भएपनि रेखदेख गरेका आधारमा कर्मचारीले पहिचान गर्ने गरेका छन् । ‘कति गाई त हामीले सडकमा देखेर चिन्छौं । यसरी गाईलाई सडकमा फाल्नेलाई किन गाई दिएछौं भन्ने सोच्छु ।’– भारतीले भने । कान्जि हाउसबाट लगेर सडकमा वेवारिसे छाड्नेलाई कारबाहीको नीति बनाउनुपर्ने अवस्था देखिएको छ ।

त्यस बिषयमा कर्मचारीहरुले उपमहानगरपालिकाका पदाधिकारीलाई जानकारी गराइसकेका छन् । वेवारिसे अवस्थाका गाई गोरुले नेपालगन्जमा तनाव दिएको छ । त्यसको रेखदेख गर्न २०७७ सालमा कान्जि हाउस निर्माण गरिएको थियो । जहाँ अहिले ७५ वटा गाई छन् । गाई संरक्षणका लागि सुविधा सम्पन्न पूर्वाधार निर्माण गरिएको छ भने इन्चार्ज भारतीसहित अन्य तीनजना कर्मचारी खटिएका छन् ।

भारतीकाअनुसार गाईको पोषणका लागि उचित ध्यान दिइएको छ । दिनमा तीनपटक खाना खुवाइन्छ । ‘पोषणका लागि कुनै समस्या नहोस् भन्नेमा हामी सचेत छौं ।’– भारतीले भने,–‘वेवारिसे अवस्थाका गाई गोरु हुने भएकाले स्वास्थ्यमा बिशेष ध्यान पु¥याउनुपर्छ ।’

मल बिक्री गरेर आम्दानी

कान्जि हाउसलाई आर्थिक आम्दानीको माध्यमका रूपमा समेत प्रयोग गर्न लागिएको छ । गत बैशाखदेखि निर्णय गरेरै मल बेच्न थालिएको छ । हालसम्म दश ट्राली मल बेचिसकिएको भारतीले जानकारी दिए ।

उपमहानगरपालिकाले निर्णय नै गरेर प्रति ट्रली रू. ४५ सयमा मल बेच्दै आएको छ । इन्चार्ज भारती भन्छन्,–‘यो आर्थिक वर्षमा मलको बिक्री बढ्छ, यो पैसाले यहाँको खर्च व्यवस्थापनमा थोरै भएपनि राहत दिन्छ जस्तो छ ।’

नेपालगन्ज उपमहानगरपालिकाले मासिक आठ लाखसम्म कान्जि हाउसमा छाडा पशु चौपायाको व्यवस्थापनका लागि खर्च गर्दै आएको छ । त्यसमध्ये केही रकम मल बिक्रीबाट प्राप्त गर्ने लक्ष्य उपमहानगरपालिकाले राखेको छ ।

कान्जि हाउसमा किन मर्छन् पशु ? 

लक्ष्मी चन्द
सहायक पाँचौ (पशु शाखा)
नेपालगन्ज उपमहानगरपालिका

नेपालगन्जस्थित कान्जि हाउसमा रहेका पशुहरुको स्वास्थ्य उपचार उपमहानगरबाटै हुन्छ । रेखदेखमा रहनुभएका कर्मचारीले पशु बिरामी परेको खबर गर्ने बित्तिकै हामी पुग्छौं ।

तर कतिपय पशुको उपचार नै सम्भव नभएपछि मर्ने गरेको पाइएको छ । बेवारिसे अवस्थाका पशुहरु भित्री र बाहिरीरूपमा असाध्यै कमजोर हुन्छन् । प्लास्टिक खाने भएको कारण झनै समस्यामा परेका पशुहरु भेटिएका छन् ।

उनीहरुको उपचार नै सम्भव नहुने अवस्थामा मृत्यु हुन्छ । अझ भित्री कारण पत्ता लगाउने हो भने त पोष्टमार्टम् नै गर्नुपर्छ । त्यसका लागि पशु चिकित्सक चाहिन्छ । उपमहानगरमा पशु चिकित्सक माग गरेका छांै ।

  • No tags available
प्रकाशित मिति : २०८० भदौ ११ गते सोमबार