कोहलपुर विद्युत कार्यालयमै कुटिए कर्मचारी



कोहलपुर ।

नेपाल विद्युत प्राधिकरण कोहलपुर वितरण केन्द्रको कार्यालय परिसरमा मंगलबार राती एक समूहले कर्मचारीमाथी कुटपिट गरेको भन्दै कर्मचारी संगठनहरुले विरोध जनाएका छन् ।

नेविप्रा कर्मचारी कल्याण परिषद, नेविप्रा कर्मचारी युनियन नेविप्रा राष्ट्रिय कर्मचारी युनियन (आधिकारिक ट्रेड युनियन)का अनुसार, करिब राती नौं बजेको समयमा रामप्रसाद हमालको समूहले कार्यालयभित्र प्रवेश गरि ड्युटीमा रहेका कर्मचारीहरुलाई गाली गलौच गर्दै कुटपिट गरेको हो । कुटपिटबाट कार्यालयका सिफ्ट इन्चार्ज फोरमेन लक्ष्मण केसीको दाँया हातको औंलामा गम्भीर चोट लागेको छ ।

कार्यालय परिसरभित्र पसी त्यहाँ रहेका कार्यालयका सवारी साधनमाथी तोडफोड गर्ने, नोलाइट कक्षमा गएर सामान बाहिर फाल्ने, अराजकता मच्चाउने कार्यको कर्मचारी संगठनहरुले भत्र्सना गरेका छन् । कर्मचारी संगठनहरुले घटनामा संलग्नलाई सार्वजनिक मुद्दा चलाई कडा भन्दा कडा कारबाहीका लागि सम्बन्धित निकायमा माग समेत गरेका छन् ।

तराई क्षेत्रमा विगत ३ दिनदेखी लगातार पानी परिरहेको बेला विद्युतीय प्रवाहमा अवरोध आई फिडर तथा ट्रान्सफर्मर सञ्चालनमा अहोरात्र खटिरहेको परिस्थितिमा यसरी नियतवश हुलदंगा मच्चाउने र डियुटीवाला कर्मचारीमाथी हातपात गर्ने अपराधिक प्रवृत्तीको नियन्त्रण गर्नुपर्ने उनीहरुको ठहर रहेको छ ।

कार्यालय परिसरमा रहेका सवारी साधन, भौतिक संरचना तोडफोड गरि र त्यही समयमा ड्युटीमा रहेका केसीमाथि कुटपिट गरेको कार्यालय प्रमुख सुरज रेग्मीले जानकारी दिए । हमाल घरमा रातको समयमा बत्ती नआएपछि एउटा समूह नै लिएर अटोमा कोहलपुर विद्युत वितरण केन्द्रमा पुगेका थिए ।

दिउँसो तीन बजेको समयमा घरमा बत्ती नभएको जानकारी गराएपछि कर्मचारी खटाई मर्मत गर्न लाग्दालाग्दै घटना घटाइएको कार्यालय प्रमुख रेग्मीले बताए । उनले भने, ‘अविरल वर्षाका कारण विद्युत लाइन खराब हुने, ट्रान्सर्फर र फिडरमा समस्या आउने समस्या देखिन्छन् ।’
हमाल समूहको आक्रमणबाट घाइतेका भएका कर्मचारी केसीले बुधबार इलाका प्रहरी कार्यालय कोहलपुरा हमालसहित तीन जनाको नाममा जाहेरी दर्ता गराएका छन् ।

कोहलपुर वडा–५ पृथ्वीनगर बस्ने ३५ वर्षीय रामप्रसाद हमाल, कोहलपुर वडा–२ बस्ने ३० वर्षीय दिपेन्द्र मिजार, कोहलपुर वडा–११ पेन्सन क्याम्पस बस्ने ३० वर्षीय सरोज खड्काको नाममा जाहेरी दर्ता भएको कोहलपुरका डीएसपी सुन्दर तिवारीले जानकारी दिए ।

घटनामा संग्लनहरुको खोजी कार्य तिव्र पारिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । पछिल्ला केही दिनयता कोहलपुरमा चोरीका घटनासँगै अन्य अपराधिक घटनाहरुमा समेत वृद्धि भइरहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८० भदौ ८ गते शुक्रबार