स्तम्भकार शाह कर्णाली योजना आयोगको सदस्य नियुक्त



नेपालगन्ज ।

शिक्षा क्षेत्रका विज्ञ एवं मिसन टुडे राष्ट्रिय दैनिकका स्तम्भकार जितबहादुर शाह कर्णाली प्रदेश योजना आयोगको सदस्य नियुक्त भएका छन् । कर्णाली प्रदेश मन्त्रीपरिषद् बैठकले योजना आयोगको सदस्य नियुक्त गरेको हो ।

सल्यानका शाह नेपाल सरकारका पूर्व उपसचिव हुन् । २८ वर्ष शिक्षा सेवामा रहेर काम गरेका उनले १० वर्ष शिक्षण पेसामा आबद्ध थिए ।

उनले यसअघि चार जिल्लाको जिल्ला शिक्षा अधिकारी, राष्ट्रिय परीक्षा बोर्ड कर्णालीको निर्देशक र सुर्खेत मेडिकल कलेज पूर्वाधार विकास निर्माण आयोजनाका प्रमुखसमेत रहेर काम गरिसकेका छन् ।

सेवानिवृत्त भएपछि शाहले पुस्तक प्रकाशन एवं लेखनको कार्य गर्दै आएका थिए । शाहले काठमाडौं विश्वविद्यालयबाट शैक्षिक नेतृत्व विषयमा एमफिल गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले कर्णाली प्रदेश योजना आयोग (गठन तथा कार्य सञ्चालन) आदेश, २०७५ को दफा ३ को उपदफा (२) को खण्ड (ग) बमोजिम आयोगको सदस्यमा नियुक्त गरिएको जनाएको छ ।

उनी मिसन टुडे राष्ट्रिय दैनिकका स्तम्भकार समेत हुन् । मिसन टुडे प्रकाशन गृहले योजना आयोगको सदस्य नियुक्त भएकोमा शाहलाई बधाई ज्ञापनको साथै सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८० भदौ ८ गते शुक्रबार