भारत सरकारको निर्णयको असरः नेपालमा आकासियो प्याजको भाउ



टमाटरको महङ्गी थामिनसक्नु थियो । शनिबारदेखि अचानक प्याजको भाउ बढेको छ । हरेकको भान्सामा नभई नहुने टमाटर र प्याजको मुल्य छोइनसक्नु गरी बढेपछि उपभोक्ता हैरान छन् । टमाटर जस्तै प्याजमा समेत कालोबजारी भएको भन्दै उपभोक्ताले अनुगमनको माग गरेका छन् ।

नेपालगन्ज ।

उपभोक्ताका लागि टमाटरको महङ्गी थामिनसक्नु थियो । झण्डै दुई सय रुपैयाँ प्रतिकिलो टमाटर खरिद गर्न बाध्य उपभोक्ताले अर्को महङ्गीको सामना गर्नुपरेको छ । त्यो हो प्याज । शनिबारदेखि प्याजको भाउ अचानक बृद्धि भएको छ । प्रतिकिलो ६० रुपैयाँका दरले कारोबार भइरहेको प्याज शनिबारदेखि प्रतिकिलो ८० देखि ९० रूपैयाँसम्म पुगेको छ ।

अप्रत्याशितरूपमा बढेको मुल्यले उपभोक्ताको ढाड सेकेको छ । हरेकको भान्सामा नभई नहुने टमाटर र प्याजको मुल्य छोइनसक्नु गरी बढेपछि उपभोक्ता हैरान भएको नेपालगन्ज–१२, कोरियनपुरकी वर्षा पोखरेल बताउँछिन् । ‘टमाटरको महङ्गीले हैरान थियौं अब प्याजले रूवाउने भयो ।’– पोखरेलले भनिन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार, भारतले प्याज निर्यातमा ४० प्रतिशत महसुल लगाएको छ । भारतको अर्थ मन्त्रालयले शनिबार सूचना जारी गर्दै आन्तरिक बजारमा ब्याजको मूल्यवृद्धि रोक्न र आपूर्ति सहज बनाउन निर्यातमा ४० प्रतिशत भन्सार महसुल लगाउने निर्णय गरिएको जनाएको हो । यो निर्णय आगामी डिसेम्बर ३१ सम्मका लागि जारी रहने छ ।

बढ्दो मूल्यवृद्धिबाट सर्वसाधारणलाई राहत दिन सरकारले यस्तो निर्णय गरेको भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सले जनाएको छ ।

समाचारमा जनाइएअनुसार उत्पादनमा गिरावट आएपछि ११ अगस्टबाट भण्डारण राखिएको ब्याज निकाल्न शुरू गरेको थियो ।

भारतले आर्थिक वर्ष २०२३/२४ का लागि ३ लाख टन प्याज मौज्दातमा राखेको थियो । त्यसअघिको आर्थिक वर्ष २०२२/२३ मा सरकारले २.५१ लाख टन प्याज स्टकमा राखेको थियो । उत्पादन कम भएको बेला मूल्य बढ्ने हुँदा मूल्य स्थिरीकरणका लागि हरेक वर्ष मौज्दात राख्ने गर्छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार शनिबार भारतमा ब्याजको खुद्रा मूल्य औसत ३० भारतीय रुपैयाँ हाराहारी छ । बढीमा ६३ भारतीय रुपैयाँसम्म रहेको छ ।

विश्वको प्रमुख निर्यातकर्ता मुलुक भारतको यो निर्णयले स्थानीय बजारमा प्याजको मूल्य घटे पनि एशियाली मुलुकहरूमा मूल्य बढ्न सक्ने समाचार संस्था रोयर्टसले उल्लेख गरेको छ । नेपालसहित बंगलादेश, मलेसिया, यूएई, श्रीलंकालगायतका मुलुक भारतीय प्याजमा निर्भर छन् ।

नेपाली भान्सामा प्रयोग हुने प्याज ठूला परिमाणमा भारतबाट भित्रिने गरेको छ । नेपालगन्ज भन्सार नाकाबाट मात्रै ६ हजार मेट्रिक टन बैधानिकरूपमा भित्रिएको छ । तर अवैधरूपमा प्याज आयात गरेर उपभोक्तालाई महङ्गोमा बेच्ने गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८० भदौ ४ गते सोमबार