बाँके ।
पछिल्ला ६ आर्थिक वर्षमा कोहलपुर नगरपालिकाको बेरूजु करिब ४४ करोड पुगेको छ । आर्थिक वर्ष २०७३/०७४ देखि २०७८/०७९ सम्म कोहलपुरको बेरूजु रकम करिब ४४ करोड रूपैयाँ पुगेको हो ।
कोहलपुरको बेरूजु रकम ४३ करोड ६६ लाख ३२ हजार रूपैयाँ पुगेको नगर प्रमुख पूर्णप्रसाद आचार्यले जानकारी दिए । कोहलपुर नगरपालिकाले शुक्रबार सार्वजनिक गरेको बेरूजुसम्बन्धी तथ्यांकअनुसार विभिन्न शीर्षकमा ठूलो रकम बेरूजु देखिन्छ । ६ वर्षको अवधिमा सबैभन्दा बढी नियमित गर्नुपर्ने बेरूजु देखिएको छ ।
नियमित गर्नुपर्ने बेरूजु रकम ३६ करोड ४२ लाख १० हजार सात सय ३७ रूपैयाँ रहेको नगर प्रमुख आचार्यले जानकारी दिए । उनका अनुसार म्याद नाघेको पेश्की बेरूजु पाँच करोड ८० लाख ४३ हजार तीन सय पाँच रूपैयाँ र असूल उपर गर्नुपर्ने बेरूजु रकम एक करोड ४३ लाख ७८ हजार सात सय ४४ रूपैयाँ रहेको छ ।
‘असूल गर्नुपर्ने भन्दा नियमित गर्नुपर्ने र म्याद नाघेको पेश्की बेरूजु धेरै देखिएको छ,’ नगर प्रमुख आचार्यले भने, ‘बेरूजु फछ्र्यौटको लागि नगरपालिकाले निर्णय नै गरेर काम गरिरहेको छ ।’
पछिल्लोपटक आर्थिक वर्ष २०७८/०७९ को महालेखा परीक्षकको कार्यालयले गरेको लेखा परीक्षणमा कोहलपुरको बेरूजु १२ करोड ४० लाख ८३ हजार देखिएको थियो । महालेखाको सो प्रतिवेदनमा हालसम्मको कोहलपुरको अद्यावधिक बेरूजु ४५ करोड २८ लाख एक हजार रहेको थियो । गत आर्थिक वर्ष २०७९/०८० को भने महालेखा परीक्षकको कार्यालय लेखापरीक्षण गरेका छैन ।
२४ करोड बेरूजु नियमित गर्ने निर्णय
कोहलपुर नगरपालिकाको तेह्रौं अधिवेशनले २४ करोड चार लाख सात हजार बेरूजु नियमित गर्ने सर्वसम्मत निर्णय गरेको छ । लेखा समितिको अध्ययनपश्चात प्राप्त प्रतिवेदनलाई कार्यपालिका बैठकमा छलफल गराएर तेह्रौं अधिवेशनबाट २४ करोड बढी बेरूजु नियमित गर्ने निर्णय भएको हो ।
अधिवेशनको पहिलो र दोस्रो बैठकमा प्रतिवेदनलाई दफाबार छलफल गरेर गत असार २६ गतेको तेस्रो बैठकबाट २४ करोड चार लाख सात हजार बेरूजु नियमित गर्ने सर्वसम्मत निर्णय भएको थियो । बेरूजु फछ्र्यौटका लागि नगरपालिकामा रहेको लेखा समितिको अध्ययनपश्चात प्राप्त भएको प्रतिवेदनलाई कार्यपालिका र अधिवेशनमा छलफल गरेर बेरूजु नियमित गर्ने निर्णय भएको नगर प्रमुख आचार्यले बताए । ‘लेखा समितिको अध्ययनपश्चात प्राप्त भएको प्रतिवेदनलाई कार्यपालिका र अधिवेशनमा छलफल गरेर बेरूजु नियमित गर्ने निर्णय भएको हो,’ उनले भने, ‘२४ करोड चार लाख सात हजार बेरूजु नियमित गरिएको छ ।’
७५ प्रतिशत बेरूजु फछर्यौटको लक्ष्य
पछिल्ला ६ वर्षमा ठूलो रकम बेरूजु देखिएपछि कोहलपुर नगरपालिका बेरूजु फछ्र्यौटको लागि आक्रमकरूपमा प्रस्तुत भएको छ । नगर अधिवेशनबाट २४ करोड चार लाख सात हजार बेरूजु नियमित गर्ने निर्णय गरेको नगरपालिकाले असुल उपरका लागि विभिन्न व्यक्ति तथा संस्थालाई पत्रसमेत काटिसकेको छ ।
हालसम्म एक करोड ४३ लाख ७८ हजार सात सय ४४ रूपैयाँ असुल उपरका लागि तीन सय १४ जना व्यक्ति तथा संस्थाहरूलाई तत्काल बेरूजु फछ्र्यौट गर्न पत्र काटिएको नगर प्रमुख पूर्णप्रसाद आचार्यले जानकारी दिए ।
‘असुल उपर गर्नुपर्ने बेरूजु फछ्र्यौटका लागि पदाधिकारी, निर्माण व्यवसायी, विद्यालय, गैरसरकारी संस्थाहरू र शाखा/उपशाखा तथा कर्मचारीहरूको नाम रहेको रकम असुल उपर गर्नुपर्ने छ,’ उनले भने, ‘त्यसका लागि सम्बन्धित संस्था तथा व्यक्तिलाई बेरूजु फछ्र्यौटका लागि पत्र काटिएको छ ।’
महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा शंकास्पद बेरूजु छानबिन गर्न दिएको निर्देशनबमोजिम महालेखा परीक्षकको कार्यालयले औँल्याएका बेरूजुको अध्ययन गरी प्रतिवेदन दिन आन्तरिक छानबिन समिति गठन गरिएको छ । समितिलाई तोकिएको समयभित्र निष्पक्ष छानबिनपश्चात प्रतिवेदन पेस गर्न कार्यदेश दिइएको छ । उक्त प्रतिवेदनको आधारमा नगद जिन्सी सामान हिनामिना तथा सरकारी हानी नोक्सानी भएको ठहरेमा प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने नगर प्रमुख आचार्यले बताए ।
‘हामीले हालसम्म ५५ प्रतिसम्म बेरूजु नियमित गरेका छौं । चालू आवको अन्त्यसम्म ७५ प्रतिशत बेरूजु फछ्र्यौट गर्ने लक्ष्य छ,’ उनले भने, ‘बेरूजु फछ्र्यौटका लागि कर्मचारीहरूलाई सक्रियतापूर्वक लाग्न कडा निर्देशन दिएका छौं ।’ सुशासन र जवाफदेहिता प्रमुख संकल्प रहेकोले चालू आवको अन्त्यसम्म ७५ प्रतिशत बेरूजु फछ्र्यौट हुनेमा आफूहरू ढुक्क रहेको नगर प्रमुख आचार्यले दाबी गरे ।









प्रतिक्रिया दिनुहोस्