बाँके ।
राप्तीको बाढीमा फसेका ६ जनाको सकुशल उद्दार गरिएको छ । राप्ती सोनारी गाउँपालिका–२ टिकुलीपुरका गोठाला गएका स्थानीय व्यक्तिहरू पानीको सतह बढेपछि राप्ती नदीको टापुमा फसेका थिए ।
सबैजनाको शनिबार राती १० बजे सकुशल उद्दार गरिएको सोही क्षेत्रबाट निर्वाचित लुम्बिनी प्रदेश सांसद कृष्णा केसी (नमुना)ले जानकारी दिइन् । उनका अनुसार ६ जना गोठाला र ७८ वटा बाख्राहरूको सुरक्षाकर्मी र स्थानीयको सहयोगमा राती नै सकुशल उद्दार गरिएको थियो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले ग्वालाहरूसँगै उनीहरूको साथमा रहेका ७८ वटा बाख्राको पनि सुरक्षाकर्मीको सहयोगमा राती उद्दार गरिएको बताए । उद्दारका लागि प्रजिअ आचार्यसहित बाँकेका प्रहरी प्रमुख एसपी सन्तोषसिंह राठौर, कोहलपुरका डिएसपी सुन्दर तिवारीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय जनप्रतिनिधि तथा स्थानीयबासी खटेका थिए ।
प्रदेश सांसद नमुनाले राप्ती नदीको टापुमा फसेकालाई सकुशल उद्दार गर्ने सुरक्षाकर्मी, स्थानीय जनप्रतिनिधि, स्थानीयबासी लगायत सबैलाई आभारसहित धन्यवाद दिएकी छिन् ।









प्रतिक्रिया दिनुहोस्