मनसुनजन्य विपद्बाट ७५ हजार प्रभावित हुनसक्ने



कृष्ण ओली,बाँके
मनसुनजन्य विपद्बाट बाँकेमा यस वर्ष ७५ हजार जनसंख्या प्रभावित हुनसक्ने अनुमान गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले १५ हजार घरपरिवारका ७५ हजार जनसंख्या प्रभावित हुनसक्ने अनुमान गरेको हो ।
मनसुन सक्रिय भएसँगै विपद् व्यवस्थापन समिति बाँकेले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८०’ पारित गरिसकेको छ । जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले पूर्वतयारी तथा प्रतिकार्य योजना समितिबाट पारित भएसँगै कार्यान्वयनमा आएको जानकारी दिए ।

‘गत वर्षकोमा सामान्य थपघट गरेर पूर्वतयारी तथा प्रतिकार्य योजना बनाइएको छ,’ उनले मिसन टुडेसँग भने, ‘१५ हजार घरपरिवारका ७५ मानिसहरू प्रभावित हुने पूर्वानुमान गरेर योजना बनाएका छौं ।’

शुक्रबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले उद्दार, राहत र व्यवस्थापनका लागि सबै निकायलाई तयारी हालतमा राख्ने निर्णयसमेत गरेको छ । पूर्वतयारी तथा प्रतिकार्य योजनाअनुसार विपद् पूर्वतयारी र प्रतिकार्यका गतिविधि सञ्चालन गर्न निर्देशन दिने निर्णय भएको सूचना व्यवस्थापन अधिकृत ज्ञवालीले जानकारी दिए ।

‘पूर्वतयारी तथा प्रतिकार्य योजनाअनुसार नै आफ्ना गतिविधि सञ्चालन गर्न सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय भएको छ । योजनाअनुसार नै उद्दार, राहात तथा व्यवस्थापनको काम हुन्छ,’ उनले भने ।

जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका संयोजक विपीन आचार्यले मनसुन सुरु भएसँगै बाढी, डुबान र कटानको जोखिम धेरै रहेको बताए । विगतका वर्षहरूमा बाँकेमा बाढी, डुबान र कटानले धेरैजना प्रभावित भएको भन्दै उनले अहिले पनि त्यसको जोखिम कायमै रहेको बताउँछन् ।

‘नदी तथा खोलाका जलाधार क्षेत्रमा मनसुनजन्य विपद्को धेरै नै जोखिम छ,’ बाँकेका प्रमुख जिल्ला अधिकारीसमेत रहेका संयोजक आचार्यले भने, ‘खासगरी राप्ती नदीको तटीय क्षेत्रका मानिसहरू धेरै प्रभावित हुने पूर्वानुमान गरेका छौं ।’

विपद् भइहालेमा उद्दारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी खट्नेगरी तयारी अवस्थामा राखिएको उनले जानकारी दिए । तीनवटै सुरक्षा निकायका तालिमप्राप्त जनशक्ति आवश्यक सामग्रीसहित आफ्ना युनिटहरूमा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण डाँगीले नदी तटीय क्षेत्रका प्रहरी युनिटहरूलाई अलर्ट रहन निर्देशन दिइएको जानकारी दिए । ‘राप्ती नदीको तटीय क्षेत्रमा रहेका प्रहरी युनिटलाई अलर्ट रहन निर्देशन दिइसकेका छौं,’ उनले भने, ‘आवश्यक उद्दारका सामग्रीसहित मातहतका प्रहरी युनिटहरू तयारी अवस्थामा छन् ।’
बाढी आएर डुबान भइहालेमा तत्काल नजिकैका प्रहरी कार्यालयबाट उद्दारका लागि प्रहरी परिचालन हुने डिएसपी डाँगीले मिसन टुडेलाई जानकारी दिए । सबैभन्दा बढी राप्ती नदी, डुडुवा नाला र मान खोलाको जलाधार क्षेत्रका मानिसहरू जोखिममा रहेका छन् ।

बाढी, डुबान र कटानले सबैभन्दा बढी राप्ती सोनारी, नरैनापुर र डुडुवा गाउँपालिका जनसंख्या प्रभावित हुने जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र बाँकेले जनाएको छ ।

मनसुनजन्य विपद्का घटनालाई समयमै सम्बोधन गर्न सबै सरोकारवालासँग निरन्तर समन्वय तथा तयारी अवस्थामा रहने, जिल्ला आपतकालीन सञ्चालन केन्द्र तथा स्थानीय आपतकालीन सञ्चालन केन्द्रहरूलाई अझै बढी सक्रिय र चलायमान बनाउने, सम्भावित विपद्का घटनाहरूका विषयमा आम सर्वसाधारणलाई समयमै सञ्चार हुने व्यवस्था मिलाउनेलगायतका निर्णयले बैठकले गरेको छ ।
विपद्बाट भने जिल्लामा यस वर्ष २५ हजार घरपरिवारका एक लाख ५० हजार मानिसहरू प्रभावित हुनसक्ने पुर्वानुमान गरिएको छ ।

क्षति रोक्न नदीमा तटबन्ध
गत असोज अन्तिममा राप्ती नदीमा आएको बाढीले कटान गरेको कचनापुर र खल्लाझगडिया टोलमा तटबन्धको काम सुरू भएको छ । अति जोखिममा रहेका नौ स्थानका लागि बजेट माग गरे पनि थोरै रकममात्रै आएपछि दुई स्थानमा तत्काल तटबन्ध निर्माणको काम थालिएको हो ।

तत्काल राप्तीसोनारी–२ कचनापुरको मधुवाघाट र वडा नम्बर ७ को खल्लाझगडियामा तटबन्ध निर्माण गर्न लागिएको सोही क्षेत्रबाट निर्वाचित लुम्बिनी प्रदेश सांसद कृष्णा केसी (नमुना)ले बताइन् ।

‘राप्ती नदीका नौ अति जोखिम स्थानमा तटबन्ध निर्माणको लागि संघीय सरकारबाट बजेट माग गरेका थियौं,’ उनले भनिन्, ‘तत्कालका लागि दुई करोड रूपैयाँ प्राप्त भएको छ । सोहीबाट अहिले मधुवाघाट र खल्लाझगडियामा तटबन्ध निर्माण थालेका हौं ।’
यी स्थानहरूमा यसअघि राप्ती नदीमा आएको बाढीले तटबन्ध भत्काएको थियो । मधुवाघाट र खल्लाझगडियामा तटबन्ध निर्माण हुन नसके राप्ती नदीमा ठूलो बाढी आए गाउँतर्फ पस्ने ठूलो सम्भावना रहेको थियो । सोही कारणले मनसुन सुरु भए पनि तटबन्धको काम गर्नुपरेको लुम्बिनी प्रदेश सांसद केसीले जानकारी दिइन् ।

‘संघको आकस्मिक कोषबाट ढिलोगरी मात्र रकम आयो । बस्ती र खेतीयोग्य जमिन जोगाउनको लागि तटबन्ध निर्माण थाल्नुप¥यो । तिव्र गतिमा केही दिनभित्रै काम सक्नेगरी काम भइरहेको छ ।’

जनताको तटबन्ध कार्यक्रम लमही दाङमार्फत मधुवाघाट र खल्लाझगडियामा तटबन्ध निर्माणको काम अगाडि बढेको छ । काम गर्दै जाँदा थप रकम आवश्यक परेमा बजेट उपलब्ध गराउने प्रधानमन्त्री, अर्थमन्त्री र उर्जामन्त्रीले प्रतिबद्धता जनाएको सांसद नमुनाले जानकारी दिइन् ।
‘काम गर्दै जाँदा थप रकम आवश्यक परेमा उपलब्ध गराउने भनेर प्रधानमन्त्री र मन्त्रीज्यूले भन्नुभएको छ,’ उनले मिसन टुडेसँग भनिन्, ‘अहिले काम धमाधम भइरहेको छ । राप्तीमा ठूलो बाढी आउनुभन्दा अगाडि नै काम सक्नुपर्ने चुनौती छ ।’

स्थानीय विपद् व्यवस्थापन समितिको मागअनुसार कचनापुरको मधुवाघाट र खल्लाझगडिया टोलमा तटबन्ध निर्माणार्थ ढुंगा उत्खननका लागि जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले अनुमति दिइसकेको छ । समितिको शुक्रबारको बैठकले नदीजन्य पदार्थ उत्खनन सम्बन्धमा ढुंगा, गिट्टी, बालुवा उत्खनन बिक्री व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७७ को दफा १२ बमोजिम हुनेगरी अनुमति दिने निर्णय गरेको थियो ।

क्षति न्यूनीकरण गर्नेगरी काम गर्न निर्देशन
जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले सम्बन्धित निकायलाई बाढीजन्य प्रकोपको पूर्वतयारीका लागि निर्देशन दिने निर्णय गरेको छ । कटान र बाढीका कारण हुने क्षति न्यूनीकरणका लागि समयमै रोकथाम तथा आपकालीन तटबन्धको लागि काम गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिने निर्णय गरेको हो ।

बैठकले बाढीजन्य प्रकोपको पूर्वतयारीका लागि राप्ती नदी, मान खोला, किरण नाला र डुडुवा नालालगायतका जोखिमयुक्त क्षेत्रहरूमा कटान र बाढीका कारण क्षति हुनसक्ने आँकलन गरेको छ ।

सिक्टा सिँचाइ आयोजनाको पुलको दक्षिणतर्फ तटबन्ध निर्माणका लागि एक सय थान ग्याविन जाली उपलब्ध गराउन जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बाँकेलाई अनुरोध गर्ने निर्णयसमेत गरेको छ । पुलको दक्षिणतर्फ वैशा पिकनिक छेउमा यसअघि राप्ती नदीमा आएको बाढीले तटबन्ध भत्काएको थियो । सोही स्थानमा तटबन्ध गर्नको लागि एक सय थान ग्याविन जाली माग गरिएको जिल्ला विपद् व्यवस्थापन समिति बाँके जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८० असार १० गते आइतबार