कोहलपुर, कोहलपुर नगरपालिकाले भिजन कम्पिटिसनका लागि २०७९ पुस १५ गते प्रस्ताव पेस गर्ने सूचना जारी ग¥यो । सूचना जारी भएको ६ महिनापछि अन्तिम नामावली सार्वजनिक गरिएको छ । रीतपूर्वक प्रस्ताव पेस गरेकामध्ये प्रारम्भिक छनोटमा परेका प्रस्तावको विषयवस्तु सार्वजनिक गरिएको हो ।
उक्त प्रतियोगिताका सहभागीमध्ये पाँचजना प्रस्तावकको नाम सार्वजनिक गरिएको छ । दुईजना प्रथम, दुईजना द्वितीय र एकजना तृतीय भएका छन् । कोहलपुर–१२ का भद्रबहादुर थापा र नेपालगन्ज –२ का हरिप्रसाद सुवेदी उक्त प्रतियोगितामा प्रथम भएका छन् । गोगनपानी–५ दैलेखका टेकेन्द्रबहादुर महतारा र विध्यापुर–२ सुर्खेतका यामलाल ढकाल द्वितीय र कोहलपुर–११ का कर्णबहादुर थापा तृतीय भएका छन् ।

अन्तिम सूचिमा परेकामध्ये प्रथम स्थान हासिल गर्न सफल थापाले ४० पेज लामो कोहलपुर नगरपालिकाको वर्तमान अवस्थाको विश्लेषणसहित समृद्धि र विकासको कार्ययोजना प्रस्तावना समेटेका छन् ।
उनले कोहलपुर नगरपालिकाको परिचय, उद्देश्य, समस्या, अध्ययन विधि र निष्कर्षसहित ६ बुँदे शीर्षकमा विषयसूचि निर्माण गरेका छन् । यस्तै उनले पेस गरेको कार्ययोजनामा कोहलपुर नगरपालिकाको अवस्था विश्लेषणसहित समृद्धि र विकासको कार्ययोजनामा विभिन्न १३ वटा बुँदा समेटेका छन् ।
कार्ययोजनामा कोहलपुरको समृद्धि र विकासका लागि आर्थिक, सामाजिक र पूर्वाधार विकास आवश्यक रहेकोमा उनको जोड छ । यस्तै फोहोर मैला व्यवस्थापन, दिगो पर्यटन प्रवद्र्धन सामुदायिक विकासमा जोड दिनुपर्ने उनले उल्लेख गरेका छन् ।
यस्तै स्वास्थ्य र शिक्षा, सांगठनिक विकास र सुशासन, क्षमता विकासलाई समेट्न आवश्यक रहेको थापाले औँल्याएका छन् । नगर समृद्धि र विकासका लागि कृषि उत्पादनमा वृद्धि गर्नुपर्ने, वातावरण तथा विपद् व्यवस्थापन, नविनतम् सूचना र प्रविधिको कार्यान्वयन र भ्रष्टाचारको नियन्त्रणमा ध्यान दिनुपर्ने थापाको कार्ययोजनामा उल्लेख गरिएको छ ।
कार्ययोजनामा कोहलपुर नगरपालिकाको समग्र अवस्था खोज, अनुसन्धान तथा विश्लेषणमार्फत समृद्धि र विकासका अवरोध पत्ता लगाउनु र समृद्धि र विकासको कार्ययोजना तयार गर्नु उद्देश्य रहेको उनले बताए ।
स्थानीय तहमा आय तथा रोजगारी सिर्जना गर्ने मेरुदण्डको रुपमा आर्थिक विकास भए पनि यो क्षेत्रलाई नगरपालिकाले आर्थिक विकासका नाममा गरेका कामहरुले पुँजी निर्माण तथा रोजगारीमा योगदान पु¥याउन नसक्नु प्रमुख समस्याको रुपमा रहेको थापाले औँल्याएका छन् ।
कृषि र पशुपालनमा अनुदान कार्यक्रम सञ्चालन गरे पनि प्रभावकारी नभएको र पर्यटन विकासका लागि भ्युटावर, मन्दिर निर्माणलाई प्राथमिकता दिइनु समस्याका रुपमा रहेको उनले जनाएका छन् ।
डोजरे विकासलाई प्रोत्साहन गर्नु, वन तथा जलस्रोत क्षेत्रमा संघीय मोडलअनुसार काम हुन नसकेको, योजना व्यवस्थापनमा उपभोक्ता समितिले ९० प्रतिशत हिस्सा ओगट्नु र आन्तरिक आय अभिवृद्धिमा पालिकाले पर्याप्त प्रयत्न गर्न नसक्नु नगर समृद्धिका समस्याका रुपमा व्याख्या गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्