मिसन संवाददाता
नेपालगन्ज, २९ जेठ
ईलाका प्रहरी कार्यालय कोहलपुरमा आइतबार निकिता नेपाली एउटा छलफलमा सहभागी भइन् । दुई बर्से बच्चासहित सहभागी भएकी उनलाई स्तनपान गराउन कम्ता सकस भएन । अन्य सहभागीसहित बसेकी उनको बच्चा दूध खान खोजिरहेको थियो । तर, उनले ईलाका प्रहरी कार्यालय परिसरभित्र बच्चालाई दूध खुवाउन उपयुक्त ठानेनिन् । अन्ततः उनी कार्यालयको कुनामा गएर असहज परिस्थितिका बीच बच्चालाई स्तनपान गराइन् ।
तीन बर्से बच्चासहित कोहलपुरकी उर्मिला केसी आइतबार ईलाका प्रहरी कार्यालय कोहलपुरमा पुगिन् । ईलाका प्रहरी कार्यालयमा स्तनपान कक्ष नहुँदा उनले पनि सास्ती खेप्नु प¥यो । जब उनी आमा बनिन्, सार्वजनिक स्थानमा यसको अभाव उनैलाई बढी खड्किएको छ । ‘स्तनपान कक्ष नहुँदा एउटा कुनामा असहज ढंगले स्तनपान गराएँ,’ उनले भनिन्, ‘मान्छेका अगाडि खुवाउन समस्या हुन्छ ।’ ‘मान्छेको धेरै उपस्थिति हुने कार्यालयमा स्तनपान कक्ष नहुनु दुःखद् हो,’ उनले भनिन् । यहाँका अन्य सरकारी कार्यालयमा स्तनपान कक्ष नहुँदा पीडा भोग्ने उर्मिला एक्ली महिला होइनन् ।
सुत्केरीले मात्र नभएर गर्भवतीले पनि समस्या झेलिरहेका छन् । यहाँ आउने सुत्केरी महिलाहरुले समस्या झेल्नु परेको छ । ‘समस्या त कति हुन्छ कति । सार्वजनिक स्थानमा पुरुष सहभागी धेरै हुन्छन्,’ आइतबार ईलाका प्रहरी कार्यालय कोहलपुरमा आएकी वसुन्धारा पौडेलले भनिन्, ‘भिडभाड भइरहने भएकाले स्तनपान गराउन असहज हुन्छ ।’ बच्चा सुत्दा, रुँदा र दिशापिसाब गर्दा धेरै चिन्ता हुने गरेको उनको भनाइ छ । कार्यालयमा आउने सेवाग्राहीलाई स्तनपान कक्ष नहुँदा बच्चालाई दूध खुवाउन गोप्य ठाउँ खोज्नुपर्ने बाध्यता छ ।
स्तनपान कक्षसहित नागरिक सहायता कक्ष र महिला, बालबालिका, दलित कक्ष निर्माणको पहल भइरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख तथा प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले बताए । ‘कार्यालयमा आउने सेवाग्राहीमात्र होइन हाम्रै प्रहरी स्टाफहरुलाई पनि स्तनपान गराउन समस्या छ,’ उनले भने, ‘यसका लागि जनप्रतिनिधिहरुसँग समन्वयन भइरहेको छ ।’
ईलाका प्रहरी कार्यालय महिलामैत्री बनाउन ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुखसँग छलफल भएको लुम्बिनी प्रदेशसभास सदस्य सञ्जुकुमारी चौधरीले बताइन् । ‘सेवा प्रदायक संस्थालाई प्रभावकारी बनाउन सहयोगको आवश्यक छ,’ उनले भनिन्, ‘स्तनपान कक्ष निर्माणका लागि सहयोग गर्ने कुरा भएको छ ।’ नागरिक सहायकता कक्ष स्थापनाका लागि कोहलपुर नगरपालिका सकारात्मक देखिएको छ । ईलाका प्रहरी कार्यालयमा उपस्थिति हुने सेवाग्राहीलाई समस्या भएको हुँदा उक्त कक्ष निर्माणका लागि नगरपालिका सकारात्मक भएको बताइएको छ । नागरिक सहायता कक्ष स्थापनाका लागि ईलाका प्रहरी कार्यालयबाट प्रस्तावना आएको कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्यले बताए । ‘ईलाकाबाट योजना माग आएको छ,’ उनले भने, ‘अहिले शीर्षक छैन । बजेट निर्माणको चरणमा छौं । यस विषयमा साथीहरुसँग सल्लाह हुन्छ ।’ स्तनपान कक्ष स्थापना हुँदा कोहलपुरकै नागरिकलाई फाइदा पुग्ने भन्दै उनले बजेट निर्माण गरेर सहयोग गर्न सकिने बताए ।
यस्तै महिला, बालबालिका, दलित कक्ष निर्माणका लागि लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसी (नमुना) सकारात्मक देखिएकी छिन् । ईलाका प्रहरी कार्यालयमा नागरिक सहायता कक्ष स्थापना भए सेवा सहज ढंगले प्रवाह गर्नमा सहयोग पुग्ने ईलाका प्रहरी कार्यालयका प्रमुख तिवारीले जनाए । ‘पहिला नागरिक सहायता कक्षमा आउनुहुन्छ । त्यहाँबाट सेवाग्राहीका लागि आवश्यक कागजात (निवेदनलगायतका कागजात) तयार हुन्छ । अनि त्यहाँबाट सम्बन्धित फाँटमा सेवाग्राही पुग्छन्,’ उनले भने, ‘जसले गर्दा सेवाग्राहीलाई झन्झट कम हुन्छ । सेवा लिइसकेपछि सेवाग्राही पुनः नागरिक सहायता कक्षमा आउँछन् र त्यहाँ एउटा फाराम हुन्छ । ईलाका प्रहरी कार्यालयको सेवाप्रवाहका विषयमा प्रश्न हुन्छन् । त्यो फाराम सेवाग्राहीले भर्नुपर्छ ।’
सेवाग्राहीका गुनासाका आधारमा कुन फाँटमा केकस्तो कमजोरी छ त्यसलाई सुधार गर्न सहज हुने उनको भनाइ छ । अहिले ईलाका प्रहरी कार्यालयभित्र सीमित स्रोत साधनका बीच सेवा प्रवाह भइरहेको छ । साथै सेवाग्राहीहरुका लागि आवश्यक निवेदन निःशुल्क लेख्ने काम ईलाका प्रहरी कार्यालयले सुरु गरेको छ । अहिलेसम्म करिब नौ सयभन्दा धेरै सेवाग्राहीका निवेदन लेखिएको ईलाका प्रहरी कार्यालय कोहलपुरको भनाइ छ ।









प्रतिक्रिया दिनुहोस्