मिसन संवाददाता
नेपालगन्ज, २८ जेठ
नेपालगन्जको चारबाहिनी चोकमा निःशुल्क चिसो खानेपानी वितरण गरिएको छ । मानवता नेपाल बाँकेको आयोजनामा आइतबार यहाँ खानेपानी वितरण गरिएको हो ।
‘आउनूहोस् हराएको मानवताको खोजीमा सबैले हातेमालो गरौं’ भन्ने मूल उद्देश्य राखेर पानी वितरण गरिएको छ । पछिल्लो समय नेपालगन्जमा अत्यधिक गर्मी भएको र हिँड्डुल गर्ने व्यक्तिलाई प्यास धेरै लाग्ने हुँदा उनीहरुको प्यास मेटाउन निःशुल्क पानी वितरण गरिएको मानवता नेपाल बाँकेका अध्यक्ष मधुसुधन अधिकारीले जनाए । ‘पछिल्लो समय मानवता हराउँदै गएको छ । परेका बेला सहयोग गर्ने बानी हराउनु राम्रो होइन,’ उनले भने, ‘हामीले मानवता जगाउन पानी वितरण गरेका हौं ।’
आइतबार एक हजारजनालाई साढे चार सय लिटर पानी वितरण गरिएको उनको भनाइ छ । एक हप्तासम्म पानी खुवाउने कार्य गर्न खोजे पनि आर्थिक अभाव हुँदा एक दिनमात्र निःशुल्क पानी खुवाउन सकिएको उनको भनाइ छ । कसैले पानी खरिदमा सहयोग गरे नेपालगन्जका चोकचोकमा पानी वितरण गरिने उनी बताउँछन् ।
मानवीय भाव राखेर मानवीय कार्य गर्ने हेतुले नै संस्था स्थापना भएको भन्दै उनी भन्छन्, ‘गरिब, असहाय, अशक्त व्यक्ति कसरीलाई सहयोग गर्ने र बेवारिसे लासलाई कसरी व्यवस्थित गर्न सक्छौं भन्ने हामीमा छ । हिजोका दिनमा सहयोग जुटाएर भए पनि मानवीय कार्य गर्दै आएका छौं ।’ विधानमै भएका कुरालाई कार्यान्वयन गर्न मानवीय कार्य गर्दै आएको उनी बताउँछन् ।
प्रत्येक महिना एक वा एकभन्दा बढी नमुना मानवीय कार्य गर्दै आएको उनले जनाए । सोहीअनुसार संस्थामा आबद्ध सदस्यहरुले जन्मदिनको खर्च कटाएर मानव सेवा आश्रमलाई सहयोग गर्दै आएका छन् ।
प्रकाशित मिति : २०८० जेठ २९ गते सोमबार









प्रतिक्रिया दिनुहोस्