लुम्बिनी प्राविधिक विश्वविद्यालयमा कक्षा सञ्चालनको तयारी



कोहलपुर,लुम्बिनी प्राविधिक विश्वविद्याययले शैक्षिकसत्र २०८० का लागि आइटीसम्बन्धी विषयमा विद्यार्थी भर्नाको तयारी थालेको छ । प्रदेशस्तरीय प्राविधिक विश्वविद्यालयले प्राविधिक धारमा एउटा सेमेस्टरमा ४८ जनाका दरले विद्यार्थी भर्ना लिने तयारी थालेको हो ।

उपकूलपति प्रा.डा. विनोदप्रसाद ढकालका अनुसार विद्यार्थी भर्ना प्रक्रिया सकिए लगत्तै कक्षा सञ्चालन हुनेछ । खजुरा गाउँपालिका वडा नम्बर ८ रनियापुरस्थित एक सय बिगाहा जग्गा विश्वविद्यालयको नाममा नामसारी गर्न संघीय भूमि ऐनअनुसार नमिलेकाले उक्त जग्गा ४० वर्षका लागि लिजमा लिने गरी सम्झौता गर्न सम्पूर्ण प्रक्रिया पूरा भइसकेको उनले बताए ।

खजुराका निवर्तमान गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपती र तत्कालीन लुम्बिनी प्रदेशका प्रथम मुख्यमन्त्री शंकर पोख्रेलको पहलमा लुम्बिनी प्रादेशिक विश्वविद्यालय खजुरामा खोल्ने निर्णय गरिएको थियो । त्यसका लागि आवश्यक पर्ने एक सय बिगाहा जग्गा खजुरा गाउँपालिकाले निःशुल्क उपलब्ध गराउने सर्तमा काम अगाडि बढाएको उनले बताए ।
गत पुसमा लुम्बिनी प्राविधिक विश्वविद्यालयको नेपालगन्ज वन डिभिजन कार्यालय पछाडि रहेको भवनमा विश्वविद्यालयको कार्यालय स्थापना गरिएको छ । आगामी आर्थिक वर्षको भदौदेखि नयाँ भर्ना लिएर कक्षा सञ्चालन गर्ने सम्पूर्ण तयारी भइरहेको विश्वविद्यालय प्रशासनले बताएको छ ।

स्थानीय युवा समाजसेवी किशोर थापाले विश्वविद्यालय सञ्चालन भएपछि बाँके बर्दियासहित प्रदेशभरिका विद्यार्थी लाभान्विन हुने बताए । लुम्बिनी प्राविधिक विश्वविद्यालयले कक्षा सुचारु गरे लगत्तै स्थानीय विद्यार्थीलाई समेत सहज हुने विश्वास व्यक्त गरे ।

‘आर्थिक सामाजिकरूपमा बाँकेको विकास हुनेछ । रोजगारी सिर्जना व्यापार वृद्धि हुने छ । तर विश्वविद्यालयको ठेगाना खजुरा छ,’ उनले भने ।

लुम्बिनी प्राविधिक विश्वविद्यालयले कक्षा सञ्चालनका लागि आवश्यक सहयोग गर्न खजुरा गाउँपालिका अध्यक्ष डम्बरबहादुर विक ‘तुफान’ले सधै आफू सकारात्मक रहेको बताए । आफू विश्वविद्यालय स्थापना हुने पक्षमा भएकोले पहिलो कक्षा नै खजुरामै सञ्चालन हुुनुपर्ने उनको जोड छ ।

प्रदेशस्तरीय लुम्बिनी प्राविधिक विश्वविद्यालले बाँकेलाई शैक्षिक हव बनाउन विश्वविद्यालयले महŒवपूर्ण भूमिका खेल्ने बाँकेवासीले विश्वास गरेका छन् ।
अबको करिब २ महिनाभित्र सम्पूर्ण पाठ्यक्रम छपाइ पूरा गरेर खजुरामा भवन उपलब्ध नभएको खण्डमा हाल विश्वविद्यालयको प्रशासनिक कार्यालय भएको भवनबाट नै पहिलो कक्षा सुचारु गर्ने तयारीमा रहेको सचिव रेगबहादुर भण्डारीले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०८० जेठ २१ गते आइतबार