अमेरिकी साम्राज्यवादविरुद्ध जनमोर्चाको अभियान



नेपालगन्ज,
गणतन्त्र तथा राष्ट्रियताको रक्षा गरौं, संघीयता खारेज गरौं भन्दै राष्ट्रिय जनमोर्चा अमेरिकी साम्राज्यवादविरुद्ध मेची–महाकाली अभियान सुरु गरेको छ । जेठ १ गतेदेखि सुरु भएको उक्त अभियान शनिबार बाँके पुगेको छ ।
पहिलो चरणमा नेपालगन्जमा पत्रकार सम्मेलनमार्फत अभियानको जानकारी गराइएको थियो भने दिउसो कोहलपुरस्थित न्यूरोडमा सभा आयोजना गरिएको थियो । आफ्नो स्वार्थका लागि अमेरिकाले नेपालमा विभिन्न हस्तक्षेपकारी भूमिका खेल्दै आएकाले त्यसको अन्त्यका लागि मेची–महाकाली अभियान सुरु गरिएको राष्ट्रिय जनमोर्चाले जनाएको छ । अमेरिकाले नेपालमा केही धर्म, जाति र निश्चित संघसंस्थामार्फत नेपालमा गतिविधि गर्दै आएको राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले जनाए । ‘चीनमाथि कारबाही गर्न अमेरिकाले उपयुक्त स्थान नेपाल ठानेको छ,’ उनले भने, ‘धर्म, जाति र समूहमार्फत अमेरिकाले आफ्ना गतिविधि बढाएको छ । यो नेपालको स्वाधीनता विरोधी काम हो ।’


अहिले नेपालमा अमेरिका, चीन र भारतले खुलेआम राजनीति गरिरहेको उनी बताउँछन् । साथै उनले अहिले चलेको भ्रष्टाचारी आन्दोलनमा भ्रष्टाचारीकै संलग्नता भएको आरोप लगाए । ‘पञ्चायत र राजतन्त्रमा अकूत पैसा कमाएका व्यक्ति अहिले अभियानमा लागेका छन्,’ उनी भन्छन्, ‘उनीहरुले गर्दा भ्रष्टाचारविरोधी आन्दोलन दूषित हुने खतरा छ ।’ भुटाणी शरणार्थी प्रकरणमा जोडिएकाहरु शीर्ष नेताहरुको संरक्षणमा रहेको आरोप लगाउँदै उनी भन्छन्, ‘शीर्ष नेताहरुको आम्दानीको स्रोत नै उनीहरु (भ्रष्टाचारी) हुन् । हेर्नु त, आम्दानीको स्रोत नभएका व्यक्ति कसरी विलासी जीवन बिताइ रहेका छन् ।’

अमेरिकाले पछिल्लो समय आफूनिकट राजनीति दलनै बनाएर संसद् र सरकारमा प्रभूत्व कायम गर्न खोजेको भन्दै उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) त्यसैमध्येको एउटा हो । ‘यसोभन्दा तपाईंहरुलाई उक्त पार्टीले हामीभन्दा बढी सिट जितेको फ्रस्टेसनकोरुपमा नबुझ्नुहोला,’ उनी भन्छन्, ‘यो समयक्रमले पुष्टि गर्दै जानेछ ।’ अमेरिकाले पार्टीहरुमा घुसपैठ गरेर सरकारमाथि दबाब दिएर र भारतका माध्यमबाट आफ्ना साम्राज्यवादी उद्देश्यहरु पूरा गर्ने प्रयत्न गरिरहेकोमा अब आफ्नो प्रत्यक्ष निर्देशनमा चल्ने पार्टी बनाएको दाबी गरे ।

उनले अमेरिकाले इसाइकरणका लागि पनि ठूलो लगानी गरिरहेको र त्यसमार्फत पनि नेपालमाथि प्रभूत्व कायम गर्न खोजेको बताए । उनले अमेरिकाले इण्डोप्यासिफिक रणनीतिअन्तर्गत नेपाललाई चीनविरुद्ध युद्धको अखडा बनाउने उद्देश्य राखेको दाबी गरे ।

यस रणनीतिविरुद्ध आवाज उठाउनुपर्ने र संघर्षलाई बढाएर लैजानुपर्ने आवश्यकता रहेको महसुस गर्दै मेची महाकाली अभियान सञ्चालन गरेको राष्ट्रिय जनमोर्चाले जनाएको छ । जेठ १ गते कञ्चनपुरको महेन्द्रनगर र बाग्लुङबाट एकैसाथ सुरु भएको अभियान जेठ १५ गते कठमाडौं र बुटवलमा समापन गरिने छ । अभियानका क्रममा विभिन्न स्थानमा भेला र भण्डाफोर कार्यक्रमहरु सञ्चालन गरिने राष्ट्रिय जनमोर्चाले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८० जेठ ७ गते आइतबार