२० वर्ष ग्यारेन्टीका सोलार पाँच वर्षमै विस्थापन



नेपालगन्ज, २०७३ सालमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सौर्य सडक बत्ती जडान गर्दा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले तोकेको मापदण्डअनुसार जडान गर्नुपर्ने व्यवस्था गरेको थियो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले तोकेको मापदण्डमा सोलार प्यानलमा २० वर्ष, ब्याट्रीमा पाँच वर्ष र सौर्य बत्तीमा दुई वर्षको ग्यारेन्टी हुनुपर्ने व्यवस्था गरिएको छ । यही मापदण्डमा रहेर उक्त वर्ष संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले नेपालगन्जसहित देशका एक सय ४३ नगरपालिकालाई सौर्य सडक बत्ती जडान गर्न ५० करोड रकम विनियोजन गरेको थियो ।

उक्त योजनाबाट नेपालगन्जमा जडान भएका करिब दुई सय ५० वटा सडकबत्तीहरु अहिले काम नलाग्ने भएर नयाँ विद्युतीय सडक बत्ती जडान गरिँदै छ । करिब ७३ लाख रुपैयाँ खर्च गरि जडान गरिएका ती बत्ती विस्थापन गर्न सडक डिभिजनले अहिले करिब ६ करोड रुपैयाँ खर्च गर्दै छ ।

विद्युत खपत नहुने, विद्युत महसुल तिर्नु नपर्ने र विद्युत नभएको अवस्थामा पनि उज्यालो दिने ती बत्तीहरुको ठाउँमा अब विद्युतीय बत्तीहरु जडान गर्दा महसुलको चाप थपिनेछ । अर्काेतिर लाखौँ खर्चेर जडान गरिएका सडक बत्तीहरु विस्थापन गर्दा ती सडकबत्तीका सामग्रीहरु उपयोगविहिन बन्ने भएका छन् । यद्धपी नेपालगन्ज उपमहानगरपालिकाले ती सामग्रहीहरु नगरका अन्य स्थानमा जडान गर्ने भने बताएको छ ।

तर, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको मापदण्डअनुसार अब ती सोलार प्यानलको मात्रै म्याद बाँकी छ । ब्याट्री र बत्तीको म्याद गुज्रिसकेको छ । नयाँ ठाउँमा जडान गर्दा सोलार प्यानल मात्रै काम लाग्नेछन् । ब्याट्रि र बत्ती नयाँ खरिद गर्नुपर्नेछ वा मर्मत गरेमा मात्रै उपयोगमा ल्याउन मिल्नेछ ।

सौर्य बत्तीले काम गर्न छोड्ने समस्या नेपालगन्जमा मात्रै नभै अन्य सहरमा पनि देखिएको पाइएको छ । बुटवलको राजमार्ग चौराहदेखि तिलोत्तमाको ड्राईभर टोलसम्म जडान गरिएका सौर्य सडक बत्तीले काम गर्न छाडेपछि दुई वर्षअघि नै विद्युतीय सडक बत्ती जडान गरिएको छ ।

भरतपुर महानगरपालिका र पोखरा महानगरपालिकामा पनि सौर्य सडक बत्तीहरु असफल भएका छन् । काठमाडौंमा २०७१ सालमा करिब ४० करोड रुपैयाँ खर्चिएर जडान गरिएका सौर्य बत्तीहरु पनि विस्थापन गरेर नयाँ विद्युतीय सडक बत्तीहरु जडान गरिएका छन् ।

२० वर्ष ग्यारेन्टी भएका सोलार प्यानलहरु रहेका सौर्य सडक बत्तीहरु दुई वर्षमै असफल भए । सरकारले त्यसो हुनुको कारणको खोजीसमेत गरेन । अहिले करोडौं खर्चिएका ती सौर्यबत्तीहरुको ठाउँमा पुनः करोडौँ खर्चिएर विद्युतीय सडकबत्तीहरु जडान गरिँदै छ । यस्तो अवस्था आउनुका पछाडि बत्तीको गुणस्तरमा पनि शंका गर्ने ठाउँ देखिएको छ भने स्थानीय सरकारहरुले समयमा मर्मतसम्भार नगर्नुपनि मुख्य कारण मानिएको छ ।

 

  • No tags available
प्रकाशित मिति : २०७९ चैत १४ गते मंगलबार