सुदीप अधिकारी । बर्दिया ।
बर्दियाको मधुवन नगरपालिकामा पाटेबाघको आक्रमणबाट दुईजना महिलाको ज्यान गएको छ ।
मधुवन नगरपालिका ५ को चिरौती सामुदायिक वनमा घाँस काट्न गएकी ५० वर्षीया धनसरा गुरुङ र ५५ वर्षीया समुन्द्री बुढाक्षेत्रीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक (डिएसपी) हिक्मतबहादुर बोहोराले जानकारी दिए ।
गाउँले छिमेकीहरुसँग उनीहरु सोमबार दिउसो घाँस दाउराका लागि खाता जैविकमार्ग क्षेत्रमा पर्ने चिरौटे सामुदायिक वनमा गएका थिए । घाँस दाउराकै क्रममा वनमा उनीहरुलाई बाघले आक्रमण गरेको स्थानीयले बताए ।
उनीहरुसँगै वनमा गएका छिमेकीहरुले भागेर ज्यान जोगाएको स्थानीय हरि गुरुङले जनाए । भागेर ज्यान जोगाएकाहरुले गाउँमा आएर खबर गरेपछि स्थानीयवासी घटनास्थल पुगेका थिए । खोज्दै जाँदा दुई महिलाको शव वनभित्र भेटिएको हो ।
चिरौटे सामुदायिक वन बस्तीसँगै जोडिएको छ । घटना लगत्तै स्थानीयवासी, वन कर्मचारी, प्रहरी र निकुञ्जको टोली हात्तीसहित घटनास्थल पुगेको डिभिजन वन कार्यालयका प्रमुख प्रवीण विडारीले बताए । घटना भएपछि वन आसपासको बस्ती क्षेत्रमा सर्तकता अपनाएको छ ।
पछिल्लो समय खाता जैविकमार्ग क्षेत्रमा बाघको त्रास निकै बढेको छ ।
खाता जैविकमार्गले बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतरनियाघाट वन्यजन्तु आरक्षलाई जोडेको छ । बाघ, गैँडा, हात्तीलगायतका वन्यजन्तु यसै क्षेत्र भएर ओहोरदोहोर गर्छन् । स्थानीयवासीहरु सामुदायिक वनमा घाँस दाउरा लिन, पशुचौपाया चराउन, च्याउ टिप्नलगायतका कामका लागि जाने गर्छन् । सामुदायिक वन क्षेत्रमा जाँदा घटना हुने गरेको प्रहरीको भनाइ छ ।








प्रतिक्रिया दिनुहोस्