बाँके ।
बर्दियास्थित बाँसगढी नगरपालिका–२ सिमलकुनामा समस्याग्रस्त पाटेबाघले मान्छेमाथि आक्रमण गर्नुका साथै बाख्राहरु मारेको छ । मंगलबार राति समस्याग्रस्त पाटेबाघले आक्रमण गरेर एकजनालाई घाइते बनाउनुका साथै १० वटा बाख्राहरु मारेको हो । पाटेबाघको आक्रमणबाट स्थानीय २३ वर्षीय हिरक चन्द घाइते भएका स्थानीय घमण्ड चन्दले मिसन टुडेलाई जानकारी दिए ।
घाइते चन्दको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । ‘पछिल्लो तीन दिनयता नै गाउँमा पाटेबाघ देखिरहेको थियो । फागुन २८ गते राति मात्र भैँसीको पाडो खाइदिएको थियो,’ उनले भने, ‘मंगलबार राति त बाख्रा मारिदिनुका साथै एकजनालाई आक्रमण ग¥यो ।’
उनका अनुसार फागुन २८ गते राति स्थानीय तेजबहादुर शाहीको भैँसीको पाडोलाई पाटेबाघले मारेको थियो । भोलिपल्ट बिहानै उनकै भैँसीलाई आक्रमण गरेर घाइते बनाएको घमण्डले जनाए । मंगलबार राति साढे आठ बजेको समयमा फेरि तेजबहादुरकै घरमा पाटेबाघ आएको उनले बताए ।
त्यहाँबाट स्थानीयले धपाएको पाटेबाघले साढे १० बजेको समयमा आएर छिमेकी नमबहादुर मल्लको बाख्रा गोठमा पसेर बाख्राहरु मारेको थियो । पाटेबाघले खोरमा पसेर १० वटा बाख्राहरु मारेको ईलाका प्रहरी कार्यालय मोतिपुर बाँसगढीले जनाएको छ । ‘हावाहुरीका कारण सो समयमा गाउँमा लाइन गएको थियो,’ स्थानीय चन्दले भने, ‘सोही समयमा बाख्रा खोरमा पसेर बाख्राहरु खाइदिएछ ।
बाघ धपाउन खोज्दा एकजनालाई आक्रमण ग¥यो ।’ स्थानीयले होहल्ला गरेपछि भाग्ने क्रममा समस्याग्रस्त पाटेबाघको मृत्युसमेत भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी आशिष न्यौपानेले स्थानीय र घरपालुवा जनावरलाई आक्रमण गरेको पाटेबाघको स्वास्थ्यमा समस्या देखिएको जानकारी दिए ।
मृत्यु भएको भाले पाटेबाघको उमेर अन्दाजी एक वर्षको हुनसक्ने अनुमान निकुञ्जले गरेको छ । पोस्टमार्टम गर्दा पाटेबाघको दाहिने खुट्टाको भाग कुहेको, शरीरका विभिन्न भागमा लागेका घाउहरुमा किरा परेर र धेरै दिनदेखि कुनै आहारा नखाएको देखिएको न्यौपानेले मिसन टुडेलाई जानकारी दिए ।
‘बाघसँग जुध्दाखेरि चोट लागेर आफैँ समस्याग्रस्त बनेको पाटेबाघ भाग्ने क्रममा ठोक्किएको हुनसक्छ,’ उनले भने, ‘मृत्युको कारण यही नै हो भन्ने खुलेको छैन । पहिलेदेखि नै बिरामी भएकोले मृत्यु हुनसक्ने अनुमान गरेका छौं ।’ यसबारे थप अनुसन्धान समेत अगाडि बढाइएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्