बागेश्वरीमा स्ववियु चुनावको रौनक



कोहलपुर:  स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि कोहलपुरस्थित बागेश्वरी बहुमुखी क्याम्पसमा चुनावी रौनक बढेको छ । चैत्र ३ गते हुने निर्वाचनका लागि विभिन्न दलनिकट विद्यार्थी संगठन चुनाव प्रचारप्रसारमा व्यस्त छन् । स्ववियू निर्वाचनका लागि बागेश्वरी बहुमुखी क्याम्पसमा आठ विद्यार्थी संगठन दर्ता छन् । सबै विद्यार्थी संगठनले उम्मेदवारी घोषणा गरिसकेका छन् । उम्मेदवारहरु यतिबेला चुनावी प्रचारप्रसारमा व्यस्त छन् ।


मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसका रुपमा रहेको बागेश्वरी बहुमुखी क्याम्पसमा हुने निर्वाचनका लागि नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ, नेकपा एमालेनिकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रनिकट अखिल (क्रान्तिकारी) रहेका छन् । यस्तै सुरेश चदरा अध्यक्ष रहेको अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी),नेपाल क्रान्तिकारी विद्यार्थी संघ, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (छैठौ), र अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन ( क्रान्तिकारी ) विप्लव रहेका छन् ।

बागेश्वरीमा हुने निर्वाचनमा भने मुख्य तीन दल निकट विद्यार्थी संगठनबीच प्रतिष्पर्धा हुने देखिएको छ । चुनावको निकट्तम् प्रतिस्पर्धीका रुपमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ, नेकपा एमाले निकट अनेरास्ववियू र नेकपा माओवादी निकट अखिल (क्रान्तिकारी) रहेका छन् । स्ववियू सभापतिको रुपमा नेवि संघले महिला उम्मेदवार खडा गरेको छ । भने अनेरास्ववियू र अखिल (क्रान्तिकारी)ले पुरुष उम्मेदवार मैदानमा उतारेका छन् । अहिलेसम्म चुनावी माहोल हेर्दा नेविसंघकी टिका कुमारी शाही, अनेरास्ववियूका देवेन्द्र बुढा र अखिल (क्रान्तिकारी)का लक्ष्मण आचार्यबीच प्रतिष्पर्धा हुने देखिएको हो ।

जुझारु नेतृत्व,इमान्दारिता र लगनशिलता, विद्यार्थी अधिकारको सुरक्षा एंव सिर्जनशिलता हाम्रो प्रतिबद्धता भन्ने मूल नारासहित अनेरास्ववियू चुनावी मैदानमा होमिएको अध्यक्षका उम्मेदवार बुढा बताउँछन् । उनका अनुसार अनेरास्ववियू लामोसमयदेखि विद्यार्थीको हितमा संघर्ष गर्दे आएको संगठन हो । त्यसैले आफ्नो नेतृत्वको टिमलाई विद्यार्थीहरुले मन पराउने अध्यक्षका उम्मेदवार बुढाको दाबी छ । अनेरास्ववियुबाट सचिवमा महेन्द्र प्रकाश मल्ल र सुरेश चदरा कोषाध्यक्षका उम्मेदवार छन् ।

अखिल (क्रान्तिकारी)का लक्ष्मण आचार्य जसको नीति उसैको नेतृत्व भन्ने नारासहित चुनावी मैदानमा होमिएको बताउँछन् । उनका अनुसार बागेश्वरीमा अखिल (क्रान्तिकारी)को जीत सुनिश्चित छ । ‘हामी एकताबद्ध रुपमा चुनावमा होमिएका छौँ । अन्य संगठनमा विभाजन छ । उनीहरु गुट र उपगुटमा विभाजित छन् । विद्यार्थीहरुको हितमा हामीले हिजोदेखि नै पैरवी गर्दै आएका छौँ,’ उनले भने । अखिल (क्रान्तिकारी)बाट सचिवमा दिपेन्द्र शाही र कोषाध्यक्षमा शान्ति वि.क. उम्मेदवार छन् ।

नेविसंघकी सभापतिकी उम्मेदवार सबल महिला नेतृत्वको लागि आफ्नो उम्मेदवारी रहेको बताइन् । उनका अनुसार यो चुनाव महिला नेतृत्व चयन गर्ने राम्रो अवसरसमेत हो । नेविसंघबाट सचिवमा युवराज विष्ट र कोषाध्यक्ष नवराज वि.क.ले उम्मेदवारी दर्ता गरेका छन् ।

यस्तै निर्वाचन अधिकृत सुशिल कुमार अधिकारीका अनुसार कमल चन्दको नेतृत्वमा सचिव र कोषाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी,अखिल छैटोंबाट सदस्य पदमा मेनुका ठकुरीले सदस्य पदमा उम्मेदवारी दिएकी छन् । स्ववियू निर्वाचनका लागि आठ संगठन दर्ता भएका थिए । पाँच वटा संगठनले भाग लिएका छन् । चैत्र ३ गते निर्वाचनका लागि १९९८ जना मतदाता रहेका छन् ।

 

 

  • No tags available
प्रकाशित मिति : २०७९ फागुन २८ गते आइतबार