नेपालगन्ज (बाँके) ।
नेपालगन्ज–पोखरा रात्रिकालीन उडान सुरु भएको छ । निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले नेपालगन्जबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार रातिदेखि रात्रिकालीन उडान सुरु गरेको हो ।
नेपालगन्ज–पोखरा साँझ ७ः३० बजे उडान हुने छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई हब बनाएर नेपालगन्जसँगै चार आन्तरिक विमानस्थलबाट बुद्धले रात्रिकालीन उडान सुरु भएको छ ।
बुद्ध एयरले नेपालगन्ज, काठमाडौं, भद्रपुर र भैरहवाबाट पोखरामा रात्रिकालीन उडान भरेको छ । यी चारै गन्तव्यका जहाजको रात्रि बिसान पोखरामा हुनेछ । यी जहाज बिहानै सोही गन्तव्यका लागि उडेका छन् । कम्पनीका अनुसार बिहान पोखराबाट पुनः काठमाडौं, भैरहवा, नेपालगन्ज तथा भद्रपुर उडान गरेका छन् ।
बुद्धले दैनिक पोखराका लागि दिवा सेवामा एउटा उडान भर्दै आएको थियो । ‘पहिलो दिउसो दिनमा एकपटक पोखराका लागि उडान हुन्थ्यो,’ बुद्ध एयरका नेपालगन्जस्थित स्टेसन म्यानेजर विनित शाहले भने, ‘दिउसोको उडानलाई स्थगित गरेर रात्रिकालीन उडान बनाएका हौं ।’
सरकारले काठमाडौं बाहिर जहाज पार्किङ गर्ने मापदण्ड बनाएपछि रात्रिकालीन चारवटा आन्तरिक उडान पोखरामा गर्नु परेको उनी बताउँछन् । उनका अनुसार उक्त जहाजको पार्किङ पोखरामै हुनेछ । यसले आन्तरिकका साथै बाह्य पर्यटकहरुलाई सजिलो हुने बुद्ध एयरले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्