बाँके
नेपालगन्ज उपमहानगरपालिकाले हात्तीपाइले रोगविरुद्धको औषधि सेवन कार्यक्रम शुभारम्भ गरेको छ । राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम २०७९ अन्तर्गत वडा नम्बर ३ को वडा कार्यालयमा बिहीबार एक औपचारिक कार्यक्रमको आयोजना गरी औषधि सेवन कार्यक्रम शुभारम्भ गरिएको हो ।
‘हात्तीपाइलेविरुद्धको औषधि खाऔंः यो वर्षलाई अब अन्तिम बनाऔं’ भन्ने नाराका साथ अभियान सुरु गरिएको छ । अभियान शुभारम्भ कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य आदेशकुमार अग्रवाल, जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्रकुमार चौधरी, नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, प्रमुख जिल्ला अधिकारी विपीन आचार्य, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौर, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेल, भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. बद्री चापागाईं, नेपालगन्ज मेडिकल कलेजका चिकित्सक डा.रोमन किदवाई, डा.रोमा बोरालगायतको उपस्थिति थियो । कार्यक्रममा उपस्थित अतिथिहरुले औषधि सेवन गरेर अभियानको शुभारम्भ गरे ।

औषधि शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य अग्रवालले हात्तीपाइले रोग लागिसकेपछि निको नहुने भन्दै यसबाट जोगिन औषधि सेवन गर्नुको विकल्प नरहेको बताए । जिल्ला समन्वय समिति प्रमुख चौधरीले आफ्नो स्वास्थ्यको लागि दायाँबायाँ नसोचेर निर्धक्कका साथ औषध सेवन गर्न आग्रह गरे । नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख विष्टले अफबाह र हल्लाका पछि नलागेर ढुक्क भएर औषधि सेवन गर्न नेपालगन्जवासीलाई आग्रह गर्नुभयो । उनले आफ्ना बालबालिकालाई दादुरा खोप नलगाउँदा भोगेको दुःख र पीडा सम्झँदै हात्तीपाइलेको औषधि सेवन गर्नुपर्ने बताए । नगर प्रमुख विष्टले औषधि खाए नखाएको एकिन विवरण राख्न स्वास्थ्य महाशाखालाई निर्देशनसमेत दिए ।
नेपालगन्ज मेडिकल कलेजका चिकित्सक डा. किदवाईले औषधिको कुनै साइड इफेक्ट नरहेको प्रष्ट पार्दै हात्तीपाइले रोगबाट बच्न ढुक्क भएर औषधि सेवन गर्न आग्रह गरे । नेपालगन्जमा सबैभन्दा कम कभरेज भएको वडा नम्बर ३ बाट अभियान थालिएको स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले बताए । चन्दका अनुसार मुस्लिम समुदायको बसोबास रहेको वडा नम्बर ३ मा २१ प्रतिशत मात्र कभरेज रहेको छ । नेपालगन्जमा हाल साढे चार सयको हाराहारीमा हात्तीपाइलेका रोगी रहेको चन्दले जनाए । औषधि सेवन गरेका व्यक्तिहरु पनि औषधि सेवन नगर्ने व्यक्तिहरुका कारण जोखिममा रहेको चन्दले बताए ।
स्वास्थ्यकर्मीहरुका अनुसार दुई वर्ष उमेर नपुगेका बालबालिकाहरु, गर्भवती र सात दिनसम्मका सुत्केरी, छारे रोगको समस्या भएका व्यक्तिहरु तथा सिकिस्त बिरामीहरुले यो औषधि खानु हुँदैन । सिकिस्त बिरामीहरु भन्नाले रोगका कारण ओछ्यानमा परेका बिरामी, अस्पताल भर्ना भएका बिरामीहरु र मिर्गौला रोगको लागि डायलाइसिस जस्ता जीवनभर चिकित्सकीय उपचार सहायतामा बसेका बिरामीहरु हुन् । यो औषधि खाली पेटमा खानु नहुने, शरीरमा हात्तीपाइले रोगको परजीवि भएका व्यक्तिहरुमा यो औषधि सेवन गरेपछि सामान्य टाउको दुखाई, वाकवाकी लाग्ने तथा पेट दुख्ने हुन सक्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
बाँकेसहित १५ जिल्लामा पनि औषधि सेवन सुरु
सरकारले बिहीबारदेखि २५ गतेसम्म १५ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान सुरु गरेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार झापा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, रसुवा, लमजुङ, पर्वत, बाग्लुङ, कपिलवस्तु, दाङ, बाँके र कैलालीमा यो अभियान सुरु भएको हो ।

लक्षण नदेखिकाहरुमा पनि हात्तीपाइले रोग लागेको हुन सक्ने भएकाले अभियान चलाइएको बेलामा औषधि खान इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर चुमनलाल दासको सुझाव छ । हात्तीपाइलेको लक्षण देखिएपछि औषधि खाँदा निको हुँदैन । त्यसैले रोग लाग्नु अगावै औषधि खान डाक्टरको सुझाव छ । हात्तीपाइले रोगविरुद्धको औषधि ६ वर्षसम्म लगातार वर्षमा एक पटक गरी ६ पटकसम्म खानु पर्छ । तर, धेरैजसोले हात्तीपाइलेको औषधि नखाने गर्दा रोग देखा पर्ने गरेको छ ।
धेरैलाई यो औषधि खाएपछि स्वास्थ्य समस्या देखिन्छ भन्ने भ्रम छ । डाक्टरले केही व्यक्तिलाई ज्वरो आउने, रिँगटा लाग्ने, वाकवाकी लाग्ने जस्ता सामान्य स्वास्थ्य समस्या देखिए पनि डराउनु नपर्ने भन्दै ढुक्क भएर औषधि खान सुझाव दिएका छन् । दुई वर्ष उमेर नपुगेका बालबालिकाहरु, गर्भवती र सात दिनसम्मका सुत्केरी, छारे रोगका समस्या भएका व्यक्तिहरु तथा सिकिस्त बिरामीहरुले भने यो औषधि खानु नहुने महाशाखाले जनाएको छ ।
हात्तीपाइले रोग मानिसलाई शारीरिकरुपमा अशक्त तथा अपांग बनाउने एक सरुवा रोग हो । यो रोग संक्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्दछ । सरकारले ४८ जिल्लामा भने हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान बन्द गरेको छ । हिमाली आठ जिल्ला सोलुखुम्बु, मनाङ, मुस्ताङ, डोल्पा, जुम्ला, हुम्ला कालीकोट, मुगुमा हात्तीपाइलेविरुद्धको औषधि खुवाउन अभियान सञ्चालन गर्न आवश्यक भए÷नभएको बारे अनुसन्धान हुँदैछ ।









प्रतिक्रिया दिनुहोस्