कृष्ण ओली । बाँके ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि बाँकेका ४२ वटा सामुदायिक विद्यालय छनोट भएका छन् । देशभरिबाट कार्यक्रमका लागि तीन हजार चार सय ७५ विद्यालय छनोट भएकोमा बाँकेका ४२ वटा विद्यालय छनोटमा परेका हुन् । बिहीबार शिक्षा तथा मानव स्रोत विकास केन्द्रले छनोटमा परेका विद्यालयको नाम सार्वजनिक गरेको छ ।
भदौ २९ गतेको मन्त्रीस्तरीय निर्णयबाट उक्त कार्यक्रमका लागि तीन विद्यालय छनोट गरिएको हो । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत भौतिक सुविधा विस्तारलगायतका कार्यक्रममा सहभागी हुने विद्यालयले स्थानीय तहमार्फत शिक्षा तथा मानव स्रोत केन्द्रमा प्रस्ताव पसे गरेका थिए । ती विद्यालयमध्ये तीन हजार चार सय ७५ विद्यालय छनोट गरिएको बताइएको छ ।
बाँकेका पालिकामध्ये सबैभन्दा बढी राप्तीसोनारी गाउँपालिकाका आठ विद्यालय छनोटमा परेका छन् । तीमध्ये पाँच विद्यालय भवन र तीन विद्यालय आइसीटी निर्माणका लागि छानिएका बताइएको छ । नेपाल राष्ट्रिय मावि गुलरी, नेपाल राष्ट्रिय मावि अगैया, बालशान्ति आधारभूत विद्यालय भुलुनिया, जनशक्ति मावि बालापुर र भुवर भवानी मावि बिनौना भवन निर्माणका लागि छनोटमा परेका हुन् ।
गणेश मावि, शिवशक्ति मावि र जनशक्ति मावि बैजापुरमा भने आइसीटी निर्माण हुनेछ । नेपालगन्ज उपमहानगरपालिका सात विद्यालय भवन र आइसीटी निर्माणका लागि छनोटमा परेका छन् । नेपाल राष्ट्रिय आधारभूत विद्यालय घरबारीटोल, शारदा आधारभूत विद्यालय आदर्शनगर, नारायण मावि, आधारभूत विद्यालय जयसपुर र नेपाल राष्ट्रिय आधारभूत विद्यालय नटनपुरमा भवनका लागि छनोटमा परेका हुन् ।
धम्बोझी मावि र जगत ज्योति मावि भने आइसीटी निर्माणको लागि छनोटमा परेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ । कोहलपुर नगरपालिका ६ विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोटमा परेका छन् । केन्द्रले सार्वजनिक गरेको तथ्यांकअनुसार कोहलपुरका चार विद्यालय भवन र दुई विद्यालय आइसीटीका लागि छनोटमा परेका हुन् ।
नेपाल राष्ट्रिय आधारभूत विद्यालय, नेपाल राष्ट्रिय आधारभूत विद्यालय लखनवार, जनज्योति आधारभूत विद्यालय झण्डहवा र राम मावि हवल्दारपुर भवन तथा कृष्ण मावि र जनज्ञानज्योति मावि आइसीटी निर्माणका लागि छनोट भएका छन् । यस्तै नरैनापुर गाउँपालिका पाँच विद्यालय छनोटमा परेका छन् । नेपाल राष्ट्रिय माध्यमिक विद्यालय जमुनी, आदर्श माध्यमिक विद्यालय लक्षणपुर, नेपाल राष्ट्रिय आधारभूत विद्यालय शंकरनगर कोटिया र नेपाल राष्ट्रिय आधारभूत विद्यालय कोदरवटवा भवनको लागि छनोटमा परेका हुन् ।
नेपाल राष्ट्रिय आधारभूत विद्यालय जमुनाहा आइसीटी निर्माणको लागि नोटमा परेको छ । खजुरा गाउँपालिकाका जनसेवा मावि र नेराप्रावि गुराँसपुर भवन तथा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मनकामनापुर र जनता मावि सन्तकुटी आइसीटी निर्माणका लागि छनोटमा परेका छन् । डुडुवा गाउँपालिकाका जनता मावि पिप्रहवा र पशुपति मावि नौरीगौडी भवन तथा सहिद स्मारक माध्यमिक विद्यालय र आधारभूत विद्यालय छोटीहलबलडोलीमा आइसीटीको लागि बजेट विनियोजन गरिएको छ ।
जानकी गाउँपालिकाका दुई विद्यालय भवन र दुई विद्यालय आइसीटीका लागि छनोट भएका छन् । माध्यमिक विद्यालय बन्जारेगाउँ र जनसहयोग आधारभूत विद्यालय गिजरा भवन तथा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय भाटजनपुर्वा र शिवपुरी माध्यमिक विद्यालय आइसीटीका लागि छनोट भएका हुन् । बैजनाथ गाउँपालिकाका सुर्योदय मावि चिसापानी र बागेश्वरी मावि भवन तथा जनजागरण आधारभूत विद्यालय चिसापानी र जनसहयोगी आधारभूत विद्यालय आइसीटी निर्माणका लागि छनोट भएका छन् ।
चार कोठे भवन निर्माणका लागि ४५ लाख, दुई कोठे भवनको लागि २२ लाख पचास हजार तथा आइसीटी निर्माणको लागि ६ लाख ५० हजार रुपैयाँ छनोट भएका विद्यालयहरुले पाउने छन् । अनुसन्धान तथा शैक्षिक गुणस्तर शाखाका निर्देशक गोविन्दराज पोख्रेलले कार्यक्रम कार्यान्वयनसम्बन्धी विस्तृत प्रक्रिया तयारी भइरहेको जनाए । उनले वित्तीय हस्तान्तरण हुने क्रममा रहेकोले प्राप्त भएपछि कार्यक्रम लागु गर्न गराउनु निर्देशन दिएका छन् ।
कार्यक्रम कार्यान्वयनका लागि सरकारले बजेट भाषणमार्फत चालु शैक्षिक वर्ष (आर्थिक वर्ष) का लागि आठ अर्ब ८८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । गत वर्षको सात अर्ब ८५ करोड ५१ लाख रुपैयाँ छुट्याएको थियो ।









प्रतिक्रिया दिनुहोस्