नेपालगन्जका जग्गा र मन्दिर प्रकरणः विस्तृत अनुसन्धान गर्दै अख्तियार



वीरेन्द्र जैसी । नेपालगन्ज ।

नेपालगन्ज उपमहानगरपालिकाको त्रिवेणीमोडस्थित ‘चाइना बजार’को जमिनका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विस्तृत अनुसन्धान थालेको छ ।

नेपालगन्ज उपमहानगरपालिकाको कार्यपालिकाले गत वर्ष कुनै व्यक्तिको नाममा प्रमाणित हुन नसकेको जमिन आफ्नो दाबी गरिरहेका व्यक्तिहरुलाई हकभोग दिने निर्णय गरेकोबारे मिसन टुडे दैनिकमा प्रकाशित समाचारका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगन्ज कार्यालयले जाहेरी दर्ता गरेर अनुसन्धान सुरु गरेको थियो ।

कार्यालयका सूचना अधिकारी श्रीधर टण्डनका अनुसार उक्त जाहेरी केन्द्रमा पठाएर एक चरणको अध्ययनपश्चात थप अध्ययनका लागि नेपालगन्ज कार्यालयलाई जिम्मा दिइएको छ । टण्डनले अब आफूहरुले उक्त जग्गाको कागजपत्रको जाँच गर्ने बताए ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ रानीतलाउस्थित लक्ष्मीनारायण भगवान् मन्दिरको अस्तव्यवस्ताबारे परेको उजुरीमाथि पनि विस्तृत छानबिन हुने भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगन्ज कार्यालयमा मन्दिरका भक्तजनहरुको नाममा व्यक्तिगत नाम उल्लेख नभएको उजुरीमा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ओमप्रकाश आजादमाथि गम्भीर आरोपहरु लगाइएको छ ।

अध्यक्ष आजादले कोहलपुरमा रहेको मन्दिरको सात बिघा जमिनमध्ये चार बिघा जमिन ‘ठूलो रकम खाएर’ मोही कायम गराई सार्वजनिक सम्पत्तिको हिनामिना गरेको आरोप लगाइएको छ । अख्तियारले मुख्यगरी मोही कायम गराएको भन्ने आरोपमा अनुसन्धान केन्द्रित गरेको जनाएको छ ।

उजुरीमा मन्दिरको जग्गामा रहेका टहराको भाडा कहाँ जान्छ भन्ने यकिन नभएको, समितिका पदाधिकारी मिलेर पैसा बाँडेर खाने गरेको र २०६१ सालदेखि एकै व्यक्तिहरु समितिमा रहेर मन्दिरलाई अस्तव्यस्त पार्ने काम गरेको आरोप पनि छ । उक्त मन्दिरको अस्तव्यस्ताबारे बिहीबार मिसन टुडेमा विस्तृत समाचार प्रकाशित भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७९ भदौ २२ गते बुधबार