प्रेममा पारेर आर्थिक लाभ लिने खोज्ने चार महिलासहित गिरोह पक्राउ



दाङ ।

प्रेमको जालमा पारी आर्थिक लाभ लिने खोज्ने एक गिरोहलाई जिल्ला प्रहरी कार्यालय दाङले प्रक्राउ गरेको छ । पक्राउ परेको गिरोहलाई प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको थियो ।

पक्राउ पर्नेमा रोल्पा परिवर्तन गाउँपालिका–५ का ४० वर्षीय दिलिपकुमार ओली, घोराही उपमहानगरपालिका– १० की पवित्रा डाँगी, सोही ठाउँका ३२ वर्षीया विमला डाँगी, २९ वर्षीया शान्ता नेपाली र २२ वर्षीया सर्मिला भनिने पर्मिला नेपाली रहेको रहेका छन् ।

उनीहरुलाई घोराही– १० नारायणपुुरमा रहेका सुनचाँदी व्यवसायीलाई माया प्रेमको नाटक गरी रकम असुली गरेको आरोपमा पक्राउ गरिएको दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।

सर्मिलाले पीडित व्यवसायीलाई साउन २६ गते राति ११ बजेको समयमा घरमा बोलाएकी थिइन् । एसपी काफ्लेले दिएको जानकारी अनुसार व्यवसायी युवतीको घरमा पुगेको केहीबेरमा नै अन्य चारजना आएर डरधम्की दिएका थिए ।

‘डरधम्की देखाई नगद एक लाख र २/२ लाखका २ वटा फरक मितिको चेक लिएको देखिन्छ’ उनले भने, ‘एउटा ७ लाख २० हजारको चेक समेत उनीहरुले लिएका थिए ।’

सबै गरेर व्यवसायीलाई डरधम्की देखाएर १२ लाख २० हजार रुपैयाँ बेइमानी पूर्वक लाभ लिएको देखिएको दाङ प्रहरीले जनाएको छ ।

पक्राउ परेकालाई मुुलुक फौजदारी कार्यविधि संहिता–२०७४ अनुुसार आपराधिक लाभ शिर्षकमा मुद्दा दर्ता गरी अनुुसन्धान भइरहेको एसपी काफ्लेले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७९ भदौ ३ गते शुक्रबार