कोहलपुर ।
युवा प्रकाश बस्नेतले कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यको विद्यालयमा छड्के अनुगमनमाथि प्रश्न उठाएका छन् । शैक्षिक सुधारका लागि भन्दै थालिएको विद्यालय अनुगमनको परिणाम कोहलपुरका जनताले थाहा पाउनुपर्ने उनले बताएका हुन् ।
बिहीबार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा जनप्रतिनिधिसँग युवा विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भनेका थिए, ‘प्रमुख ज्यू,तपाईँले विद्यालय अनुगमन गरिरहनु भएको छ । शिक्षक अनुपस्थित रहेको पाइयो । विद्यार्थीहरु नियमित नरहेको र धेरै विद्यालयमा बेथिति रहेका समाचार आएका छन् । अब अनुगमन मात्रै होइन कारबाही गर्नुप¥यो ।’ उनले युवासँग मेयर कार्यक्रमको पनि प्रगतिबारे आफ्ना जिज्ञासा रहेका थिए ।
अर्का युवा राजबहादुर शाहीको माग थियो, कोहलपुरमा स्वच्छ खानेपानीको व्यवस्था हुनुप¥यो । सरसफाइ नहुँदा फोहोर छ, व्यवस्थापन गर्नुप¥यो । युवा दिनेश न्यौपानेले कोहलपुर नगरपालिकाले युवाहरु सवालका विषयमा भइरहेका गतिविधिबारे नगरप्रमुखलाई प्रश्न गरेका थिए ।
उनले कोहलपुर क्षेत्रमा ट्राफिक व्यवस्थापनमा युवा सहभागिता गर्ने बारे योजना माग गरे । उनका अनुसार कोहलपुरमा बढ्दो सहरीकरण र निरासाजनक बेरोजगारी अन्त्यका लागि सबैको हातेमालो आवश्यक छ । नगरपालिकाले हरेक गतिविधिमा युवा सहभागिता र सीपमूलक क्षेत्रमा केन्द्रित गर्न योजना आवश्यक रहेकोमा जोड दिएका थिए ।
युवा रमेश वरले क्षमता विकास, सीपमूलक, स्वरोगारमूलक तालिम, दुव्र्यसनबाट मुक्त हुनको लागि नगरपालिकाको योजनाका बारेमा नगरप्रमुखलाई प्रश्न गरे । उनका अनुसार कोहलपुरको बृहत् विकासका लागि युवा र जनप्रतिनिधिहरुबीच सहकार्य हुन आवश्यक छ ।
यस्तै, अन्तरक्रियामा सहभागी युवाहरुले कोहलपुर नगरपालिकाले युवाका विभिन्न सवाल, रोजगारीको अवस्था, तालिम तथा अन्र्तक्रिया, विकासमा युवाको सहभागिता, दुव्र्यसनबाट बचाउन नगरपालिकाका योजनालगायतका समसामयिक विषयमा सवाल उठाएका थिए ।
उक्त अवसरमा युवाहरुले उठाएका सवालमा उत्तर दिँदै कोहलपुर नगरपालिकाका नगरप्रमुख आचार्यले अहिलेसम्म समग्र युवाहरुको अवस्थाबारे आधिकारिक तथ्यांक नै नभएको बताएका थिए । त्यसले कोहलपुर क्षेत्रका युवाहरुले के–के काम गरिरहेका छन्, रोजगारीको अवस्था के छ, आर्थिकमूलक क्षेत्रमा युवाहरुको सहभागिताबारे आधिकारिक तथ्यांक नभएको उनको भनाइ थियो ।
निकट भविष्यमै नगरपालिकाले समग्र अवस्थाको अध्ययन गर्ने नगरप्रमुख आचार्यले बताए । उनले आफू युवाहरुको सवालमा गम्भीर रहेको बताए । युवाहरुलाई सीपमूलक, स्वरोगार हुँदै रोजगार बनाउन नगरपालिकाले रोजगार बैंक स्थापना गरिने उनले बताए । यस्तै युवाहरुले अधिकारमात्रै खोज्ने नभइ कर्तव्यसमेत पालना गर्न अग्रसर हुनुपर्नेमा नगरप्रमुख आचार्यले जोड दिए ।
अन्तरक्रियाको क्रममा एक युवतीले कोहलपुर नगरपालिकाकी उपप्रमुख संगीता सुवेदीलाई माग गरिन्, ‘नगर क्षेत्रका स्वास्थ्य चौकीमा निःशुल्करुपमा कण्डम वितरण गरेको पाइन्छ । तर हामी (किशोरी, युवती र महिला)हरुले महिनावारी भएको समयमा कपडाको प्याड धेरैपटक धोएर प्रयोग गर्नुपर्छ ।
उपप्रमुखज्यू, स्वास्थ्यचौकीमा सेनेटरी प्याडको व्यवस्था गरिदिनु प¥यो ।’ नगरपालिकाले स्वास्थ्यचौकीमा निःशुल्क सेनेटरी राखिदिएमा आभारी हुने युवती सुगम विकको भनाइ थियो ।
सिर्जना थारुको प्रश्न थियो, नगर क्षेत्रका युवतीहरुको सुरक्षा व्यवस्था हुनुप¥यो ? नगरका सम्पूर्ण क्षेत्रमा सुरक्षा व्यवस्था मजबुत हुनुपर्ने उनको भनाइ थियो । उनले भनिन्, ‘उपप्रमुखज्यू, कोहलपुरमा सात वर्षीया बालिका बलात्कृत भइन् । म जस्तै युवतीहरु अध्ययन, ट्युसनका लागि राति ४ बजे घरबाट निस्किनपर्छ ।
बाटोमा जिस्काउने र पिछा गर्नेहरुको लाइन हुन्छ । सुरक्षा चाहियो हामीलाई ।’ उनले आफूले आत्मसुरक्षा तालिम लिएको भए पनि घरबाट निस्कँदा सुरक्षित महसुस गर्न नसकेको भन्दै आममहिलाहरुको सुरक्षा व्यवस्था गर्न नगरपालिकाले गरिरहेको कामबारेमा पनि जिज्ञासा राखेकी थिइन् ।
लक्ष्मी डाँगीले कोहलपुरको दीर्घकालीन सरसफाइको मुद्दा उठाएकी थिइन् भने उर्मिला पाण्डेले घरेलु हिंसामा परेका युवा अवस्थाका महिलाहरुका विषयमा ठोस कदम चाल्न अनुरोध गरेकी थिइन् ।
कार्यक्रममा महिलाहरुले उठाएका सवालमा जवाफ दिँदै नगरपालिकाकी उपप्रमुख सुवेदीले नगरपालिकाले विगतमा सामुदायिक विद्यालयमा अध्ययनरत छात्रा तथा युवतीहरुको लागि सेनेटरी प्याड उपलब्ध गराउँदै आएको बताइन् । उनका अनुसार चालू आर्थिक वर्षमा नगरपालिकाले उक्त कार्यक्रम संस्थागत विद्यालयमा समेत लागू गर्ने भएको छ ।
उनले कोहलपुर नगरपालिकामा रहेका स्वास्थ्यचौकीहरुबाट समेत आगामी दिनमा सेनेटरी प्याड पाउने व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले महिलाहरुको सवालमा न्यायिक समितिमा आएका मुद्दामा प्राथमिकताका साथ न्याय निरुपण गरिएको बताइन् ।
यस्तै सीपयुक्त र रोजगारीमा युवा सहभागितालाई अनिवार्य बनाउँदै जानेसमेत बताइन् । अन्तरक्रिया समाज सुधार कार्यक्रम नेपाल कोहलपुुरको आयोजना, कोहलपुर नगरपालिकाको आर्थिक सहयोग र नगरस्तरीय युवा सञ्जाल कोहलपुरलगायतका सामाजिक संघ संस्थाहरुको समन्वयमा सञ्चालन गरिएको थियो ।









प्रतिक्रिया दिनुहोस्