गुलरियाका महिलामा पाठेघर खस्ने समस्या



बाँके ।

बर्दियास्थित गुलरिया नगरपालिकाका अधिकांश महिलामा आङ (पाठेघर) खस्ने समस्या देखिएको छ ।

नगरपालिकाले १२ वटै वडामा गरेको स्वास्थ्य शिविरमा महिलाको आङ (पाठेघर) खस्ने समस्या धेरै देखिएको हो । नगर स्वास्थ्य शाखाकी अनमी विष्णु सापकोटाले शिविरमा झन्डै ६ सयजनाको स्वास्थ्य परीक्षण गरिएको बताइन् ।

त्यसमध्ये दशजना महिलाको पाठेघरमा रिङ राखिएको उनले जानकारी दिइन् । ‘स्वास्थ्य परीक्षण गर्दा ४० वर्ष उमेर नाघेका महिलामा आङ खस्ने समस्या धेरै पाइएको छ,’ उनले भनिन्, ‘पाठेघर खस्ने रोगबाट पीडित महिलामध्ये एक चौथाइको शल्यक्रिया गर्नुपर्ने अवस्था देखियो ।’ अनमी सापकोटाका अनुसार विशेषतः थारू, दलित, मधेसी र सीमान्तकृत समुदायका महिला रोगबाट बढी पीडित छन् ।

कार्यालयले केही महिनाअघि मात्र आङ खस्ने रोगबाट पीडितमध्ये संवेदनशील अवस्थाका १५ जना महिलाकको निःशुल्क शल्यक्रियासमेत गरेको थियो ।

कम उमेरमा विवाह गरेका, असुरक्षितरूपमा बच्चा जन्माएका र गर्भावस्थामा पोषिलो खानेकुरा नखाएका महिलामा पाठेघर खस्ने समस्या बढी देखिने अनमी सापकोटाले बताइन् । यहाँका अधिकांश महिला उक्त समस्याबाट ग्रसित छन् । उनीहरु लाजले गर्दा समस्या लुकाएर बस्ने गरेका छन् ।

सिविरका बेला भने केही महिलाहरु खुलेर स्वास्थ्य परीक्षण गर्छन । स्थानीय तहले यहाँका महिलाहरुलाई लक्षित गरेर विशेष कार्यक्रम ल्याउनु पर्ने यहाँका स्थानीयहरुको भनाइ छ । ‘महिलाहरुले लाजले स्वास्थ्य परीक्षण नै गर्दैनन्,’ यहाँका उदय थारुले भने, ‘लाज मान्छन् भनेर स्वास्थ्यमा समस्या हुन दिनु त भएन ।’ स्थानीय सरकारले विशेष कार्यक्रम ल्याउनु पर्ने उनको भनाइ छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ असार २३ गते बिहीबार