
अध्यक्ष पदका उम्मेदवारहरु
शुभाकर विश्वकर्मा । कोहलपुर ।
ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरको नयाँ नेतृत्वका लागि असार २५ निर्वाचन हुँदैछ । निर्वाचन समितिका अनुसार पदाधिकारीसहित १० सदस्यीय कार्य समितिका लागि २५ गते बिहान ८ बजेदेखि निर्वाचन हुने भएको हो ।
सहायक निर्वाचन अधिकृत बद्रिनाथ सापकोटाका अनुसार केन्द्रको अध्यक्षसहित पदाधिकारी र कार्य समिति सदस्यका लागि २० जना चुनावी मैदानमा छन् । उनले उम्मेदवारको अन्तिम नामावलीसमेत प्रकाशन गरिएको बताए ।
निर्वाचन कार्यतालिकाअनुसार असार २३ गते (आज ) बिहान ८ बजे उम्मेदवारलाई चुनाव चिन्ह उपलब्ध गराइने छ । शैक्षिक तथा प्राज्ञिक थलोका रुपमा रहेको ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको यसपटकको नेतृत्व छनोट भने रोचक हुने देखिएको छ ।
यसअघि नेतृत्व सहमतिमै हुँदै आएको भए पनि यसपटक भने पदाधिकारीसहित सदस्य पदका लागि नेपाली कांग्रेस निकट उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ । अध्यक्षका लागि हाल अध्यक्ष रहेका चेतकान्त भट्टराईसहित ठाकुरप्रसाद भुसाल र डोलराज अर्याल चुनावी मैदानमा छन् ।
तीनजनामध्ये भुसाल र भट्टराई नेपाली कांग्रेस निकट उम्मेदवार हुने हुन् भने अर्याल नेकपा एमालेका पूर्व नेता तथा राष्ट्रियसभा सदस्य बामदेव गौतम निकट हुन् । यसैगरी उपाध्यक्षमा पनि नेपाली कांग्रेस निकट उम्मेदवार बीच प्रतिस्पर्धा हुने देखिएको छ । उपाध्यक्षमा उम्मेदवारी दिएका मणिप्रसाद गैरे पेसाले शिक्षक हुन् भने विजय पुडासैनी युवा हुन् ।
सचिव पदको चुनावी मैदानमा उत्रिएका र हाल सहसचिव रहेका निर्मल आचार्य र बागेश्वरी बहुमुखी क्याम्पसका प्रध्यापक एकराज शर्मा दुवै कांग्रेस निकट नै हुन् । सहसचिवमा पनि कांग्रेस निकट उम्मेदवार नै चुनावी मैदानमा छन् ।
सहसचिवका उम्मेदवार सन्तोषराज पौडेल नेपाली कांग्रेसको वडा नेतृत्वमा छन् भने गीतादेवी शर्मा र कल्पना भण्डारी पनि कांग्रेस निकट नै हुन् । कोषाध्यक्ष भने नेपाली कांग्रेस निकट पवित्रा ढकाल निर्विरोध चयन भएकी छन् ।
कोषाध्यक्ष पदमा यसअघि उम्मेदवारी दिएका रजनी शर्मा र कृष्णबहादुर थापाले उम्मेदवारी फिर्ता लिएपछि ढकाल निर्विरोध भएको सहायक निर्वाचन अधिकृत सापकोटाले जानकारी दिए । यस्तै पाँचजना सदस्यका लागि नौजना चुनावी मैदानमा छन् ।
निर्वाचनमार्फत पाँचजना सदस्य निर्वाचित हुनेछन् । सदस्यमा उम्मेदवारी दिएकामध्ये रविन्द्रप्रसाद सुवेदी नेकपा एमाले, प्रदीप वाग्ले र हरि चालिसे नेकपा माओवादी केन्द्र निकट उम्मेदवार हुन् । मेघनाथ भट्टराई, चुरामणि ढकाल, शर्मिला मल्ल, विनिता शर्मा, पतिराम थारु र छबीलाल पाण्डे नेपाली कांग्रेस निकट उम्मेदवार हुन् ।
निर्वाचन समितिले अन्तिम नामावली प्रकाशन गर्नु पूर्व पहिला उपाध्यक्षमा उम्मेदवारी दिएका अर्जुनकुमार पौडेल, सचिवमा उम्मेदवारी दिएका रेनुका खड्का र रुद्रमणि न्यौपाने, कोषाध्यक्षमा उम्मेदवारी दिएका कृष्णबहादुर थारु र रजनी शर्मा तथा सदस्यमा उम्मेदवारी दिएका वसन्त पुरीले उम्मेदवारी फिर्ता लिएका थिए । २५ गते हुने निर्वाचनका लागि कूल नौ सय ३० जना मतदाता छन् ।









प्रतिक्रिया दिनुहोस्