‘पत्रकारिताको गुणात्मक विकास आवश्यक’



कोहलपुर ।

पत्रकारितामा गुणात्मक विकास आवश्यक रहेको सरोकारवालाहरुले जोड दिएका छन् । पछिल्लो समय सञ्चार माध्यम संख्यात्मकरुपमा बढिरहेको भन्दै गुणात्मक विकास हुन आवश्यक रहेकोमा सरोकारवालाहरुले जोड दिएका हुन् ।

‘नेपालमा पत्रकारिता विकास भएको एक शताब्दि बितिसक्यो । अहिले विभिन्न प्रविधिको विकाससँगै पत्रकारितासमेत बहुआयामिक भएको छ । पत्रकारिताको विकाससँगै विकृतिसमेत मौलाएको छ,’ उनीहरुको भनाइ छ ।

पेसालाई मर्यादित र सम्मानित बनाउने भूमिका पत्रकार कै भएको उनीहरुले बताए । यस्तै पत्रकारहरुले सत्य र तथ्यमा आधारित भएर आफ्नो कर्म गर्नुपर्ने उनीहरुको सुझाव छ । आइतबार नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशद्वारा आयोजित मिडिया साक्षरता अन्तरक्रिया कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले पत्रकारिता शसक्त र स्वतन्त्र हुनेपर्ने बताए । पत्रकार नीति, विधि र विधानको अधिनमा रहेर निष्पक्षरुपमा सूचना संवाहक बन्नुपर्ने उनको भनाइ छ ।

नगर प्रमुख आचार्यले पत्रकारितामा स्रोतपूर्ण भावनाको हाबी हुनु बिडम्बना रहेको भन्दै यस्ता कुरामा सुधार गर्दै जानुपर्नेमा जोड दिए । ‘स्थानीय सरकारलाई सवल बनाउन, जनप्रतिनिधिलाई उत्तरदायी बनाउन मिडियाको भूमिका रहन्छ । हामीबीच सहकार्यसमेत आवश्यक छ । त्यसै बजार र पाठकको मन जित्नेगरी टिक्ने र बिक्ने समाचारमा ध्यान दिन सबैलाई आग्रह गर्दछुँ,’ उनले भने ।

कोहलपुर नगरपालिकाकी उपप्रमुख संगीता सुवेदीले महिला पत्रकारको क्षमता अभिवृद्धिमा स्थानीय सरकार तयार रहेको बताइन् । मोफसलमा महिला पत्रकार नटिक्ने समस्या रहेको भन्दै यस्ता समस्या समाधानका लागि राज्य र सरोकारवाला निकायको भूमिका रहने बताइन् ।

नेपाली कांग्रेस बाँकेका उपसभापित कृष्ण कार्कीले समाजलाई सूचना प्रवाह गर्नुका साथै सन्देश दिएर हरेक कुरामा सुसूचित गर्ने कार्यमा पत्रकारको भूमिका महŒवपूर्ण रहेकोमा जोड दिए । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख श्यामकुमार शाहका अनुसार पत्रकारितामा गुणात्मकता र व्यावसायिकता अहिलेको आवश्यकता हो ।

उक्त अवसरमा बोल्दै पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाईले प्रदेश महासंघले प्रदेशभरिका १७ सयजना पत्रकारको हकहितका लागि अनवरतरुपमा लागिपरेको बताए । उनले पत्रकारहरुको क्षमता अभिवृद्धि तथा व्यावसायिकताका लागि विभिन्न कार्यक्रम आयोजना गर्दै आइरहेको बताए ।

उक्त अवसरमा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले नेपालमा मिडिया र सूचना साक्षरता, सञ्चारसम्बन्धी नीति तथा कानुन, नेपाली पत्रकारिताको अवस्था तथा मिडिया र सूचनामा साक्षरता किन ? भन्नेलगायतका विषयमा सहभागीलाई प्रशिक्षण दिएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७९ असार २२ गते बुधबार