एक महिनामै उप्कियो नेपालगन्जमा गरिएको कालोपत्रे



नेपालगन्ज ।

जमुनाह–कोहलपुर सडकखण्डमा गरिएको कालोपत्रे उप्किएर खाल्डाखुल्डी बनेपछि सडक डिभिजन कार्यालय नेपालगन्जले एक महिना अघि मर्मत सम्भार ग¥यो । त्यसको एक महिना नपुग्दै कारकाँदो र धम्बोझी–वीपी चोकबीचनेर सडकको कालोपत्रे उप्कियो । जसले, सवारी साधनको आवागमनलाई असहज बनाइरहेको छ ।

नेपालगन्जकै मुख्य सडकमा यसरी सडकमाथिको कालोपत्रे उप्किँदा सरोकारवाला निकायले मर्मत सम्भार गर्न सकेका छैनन् । सडकमाथिको कालोपत्रे उप्किएर ठूलै खाल्डाखुल्डी पर्दासमेत सरोकारवाला मौन हुनु दुःखद् भएको स्थानीयको भनाइ छ ।

सडकमुनि खानेपानीको पाइप फुट्दा सडकमाथिको कालोपत्रे उप्किएको सडक डिभिजन कार्यालय नेपालगन्जले जनाएको छ । सडकमा खाल्डाखुल्डी हुँदा मर्मत सम्भार गरिएको भन्दै सडक डिभिजन कार्यालय नेपालगन्जका प्रमुख होमबहादुर एसीले भने, ‘सडक जीर्ण भएको थियो । हामीले मर्मत सम्भार गरिम् । सडकमुनि खानेपानीका पाइप छन् । कहाँनेर फुट्छ भनेर सडक मर्मत नगरेर बस्ने कुरा पनि भएन ।’

यस विषयमा नेपाल खानेपानी संस्थान शाखा कार्यालय नेपालगन्जलाई पटकपटक जानकारी गराए पनि पाइप मर्मत सम्भार हुन नसकेको उनी बताउँछन् । खानेपानी पाइप मर्मत गर्दा समस्या समाधान हुने उनको भनाइ छ ।

नेपाल खानेपानी संस्थान शाखा कार्यालय नेपालगन्जका प्रमुख हरिकुमार श्रेष्ठले सडक डिभिजन कार्यालय नेपालगन्जबाट पत्र प्राप्त भए पनि स्रोतसाधन अभाव हुँदा पाइप मर्मत गर्न नसकिएको बताए । ‘सोमबार पनि सडकबाट पत्र आएको छ । त्यसभन्दा पहिला पनि आएको थियो,’ उनले भने, ‘तर हामीसँग जेसिभी थिएन । नगरलाई अनुरोध गर्दा पाउन सकिएन । अब समाधान गर्छाैं ।’

मुख्य सडककै बीच भागको सडकमा खाल्डाखुल्डी हुँदा दुर्घटनाको जोखिम बढेको छ । उक्त सडकखण्डमा दैनिक सयौं सवारीसाधन आवतजावत गर्छन् । कालोपत्रे उप्किएको स्थानमा तत्कालै मर्मत सम्भार नभए अझ सडक जीर्ण हुने स्थानीय बताउँछन् ।

  • No tags available
प्रकाशित मिति : २०७९ असार २१ गते मंगलबार