निउरो टिप्न गएका नेपालीमाथि भारतीय समूहको गोली प्रहार, एक नेपालीको मृत्यु



बर्दिया ।

नेपाल-भारत सीमा क्षेत्रमा भारतीय समूहको गोली प्रहारबाट एक जना नेपाली नागरिकको मृत्यु भएको छ।

भारतीय समूहको गोली लागेर गुलरिया नगरपालिका–३, का ५४ वर्षीया हेमराज गोडियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बर्दियाले जनाएको छ। नेपाल–भारतको सीमा क्षेत्रमा रहेको मुर्तिहा जंगलमा गोडियालाई गोली लागेपछि घाइते भएका थिए।

गए राति ९ बजेतिर उनले ‘मलाई गोली लागेको छ, बचाउ’ भनेर घरमा फोन गरेको थिए। त्यसपछि उनलाई सीमा क्षेत्रबाट घाइते अवस्थामा उद्धार गरेर अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले बताए।

“उद्धार गरेर अस्पताल पुर्‍याएका थियौं। राति ११ बजे अस्पताल पुर्‍याउने वितिक्कै चिकित्सकले मृत घोषणा गरे,” सुवेदीले भने।

मृतक गोडिया बिहीबार सीमावर्ती जंगलमा निउरोको साग टिप्न गएका थिए। यस विषयमा थप अनुसन्धान भइरहेको डीएसपी सुवेदीले बताए।

  • No tags available
प्रकाशित मिति : २०७९ असार १७ गते शुक्रबार