कोहलपुर ।
कोहलपुर नगरपालिकाका स्वास्थ्यकर्मीहरुले ६ महिनापछि तलब पाएका छन् । गत माघ महिनापछि तलबबिनै काम गरिरहेका स्वास्थ्यकर्मीले चार महिनाको तलब पाएका हुन् । उनीहरुले अझै दुई महिनाको तलब पाउन बाँकी छ ।
नगरपालिकाका स्वास्थ्यकर्मीहरुले तलब नपाएको विषयमा मिसन टुडे दैनिक २९ जेठमा समाचार प्रकाशित गरेको थियो । मिसन टुडेले समाचार प्रकाशित गरेको चार दिनपछि नगरपालिकाले स्वास्थ्यकर्मीको खातामा तलब हालिदिएको छ । बिहीबार कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालसँग स्वास्थ्यकर्मीहरुले तलबका लागि छलफल गरेका थिए ।
ढकालसँगको छलफलपछि तत्काल चार महिनाको तलब निकासा गर्ने र बाँकी दुई महिनाको नगरपालिकाको आन्तरिक स्रोतबाट व्यवस्थापन गर्ने सहमति भएको थियो । दुवै पक्षबीचको सहमति लगत्तै नगरपालिकाले ४० जनासहित स्वास्थ्य शाखामा कार्यरत कर्मचारीले समेत तलब पाएका हुन् ।
यसअघि कोहलपुर नगरपालिकाअन्तर्गत १५ वटै स्वास्थ्य संस्थामा कार्यरत २२ जना र स्वास्थ्य संस्थामै कार्यरत १८ जना फाजिल स्वास्थ्यकर्मीसहित स्वास्थ्य शाखामा कार्यरत केही स्वास्थ्यकर्मीहरुले समेत लामो समय तलब पाउन सकेका थिएनन् । रझेना स्वास्थ्य चोकीमा कार्यरत भुपेशकुमार खत्रीले स्वास्थ्यकर्मीहरुले चार महिनाको पूरा तलब पाएको पुष्टि गरे ।
उनले भने, ‘नगरपालिकाले चार महिनाको तलब दिएको छ । अहिले म बैंकमा पैसा निकाल्न गएको छुँ ।’ मिसन टुडे दैनिकले तलब नपाएको विषयमा समाचार प्रकाशित गरे पनि नगरपालिकाले बाध्य भएर आफूहरुलाई छिटो तलब दिएको भन्दै खुसी व्यक्त गरे । ‘लामो समयदेखि हाम्रो माग पूरा भएको थिएन । मिसन टुडेले समाचार प्रकाशित गरेपछि तलब पायौँ, हामी एकदमै खुसी छौँ । एकदमै धन्यवाद तपाईंहरुलाई,’ उनी भन्छन् । यस्तै उनले प्रमुख प्रशासकीय अधिकृतले चार महिनाको तलब निकासा गर्ने र थप दुई महिनाको निकट समयमै व्यवस्थापन गर्ने भनेपछि स्वास्थ्यकर्मीहरु सहमत भए ।
उनीहरुले बिहीबार प्रमुख प्रशासकीय अधिकृतसँगको छलफलमा तलब दिने सहमति नभए अनिश्चितकालीनरुपमा सेवा बन्द गर्ने तयार गरेका थिए । खत्री चार महिनाको तलब पाएपछि स्वास्थ्यकर्मीहरु खुसी भएर काममा फर्किएका छन् ।









प्रतिक्रिया दिनुहोस्