नेपालगन्जका मेयर विष्ट र कुलमानबीच विद्युत् सुधारबारे छलफल



नेपालगन्ज ।

नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट र विद्युत् प्राधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङबीच नेपालगन्जको विद्युत् सेवा सुधारबारे छलफल भएको छ ।

मेयर विष्टले काठमाडौं पुगेर घिसिङसँग विद्युत्को समस्या समाधान गर्ने उपायबारे छलफल गरेका हुन् ।
छलफलमा भएका कुराकानीबारे मिसन टुडेलाई जानकारी दिँदै मेयर विष्टले कार्यकारी अधिकृत घिसिङले नेपालगन्जको विद्युत् समस्याबारे सबै कुरा जानकारी रहेको र सुधारका लागि प्रयास भइरहेको बताएको उल्लेख गरे ।

‘उहाँले नेपालगन्जको विद्युत् समस्याबारे म जानकार छुँ, देशकै धेर्र गर्मी हुने ठाउँमा विद्युत् अनियमितताका कारण भोग्नुपरेको समस्याबारे पनि म गम्भीर छु भन्नुभयो । तत्कालीन र दीर्घकालीन योजना बनाएर विद्युत् समस्या समाधान गर्ने उहाँले बताउनुभएको छ,’ विष्टले भने ।

घिसिङ नेपालगन्जमा दुईतिरबाट आउने प्रसारण लाइनबाट विद्युत् वितरण भइरहेको, पुरानो प्रसारण प्रणाली र कोहलपुरमा अहिलेको मागअनुसारको उपकरणहरु जडान गर्नुपर्ने आवश्यतका भएकोले अहिलेको समस्या देखिइरहेको बताएको मेयर विष्टको भनाइ छ ।

‘अब हाललाई तत्कालीन समस्या समाधानको प्रयास गर्ने र नेपालगन्जको विद्युत् सेवा सुधारका लागि दीर्घकालीन योजना बनाएर अघि बढ्ने उहाँले बताउनुभएको छ,’ विष्टले भने, ‘आसा गरौँ अब केही सुधार होला ।’

यसैगरी मेयर विष्टले कठमाडौं उपमहानगरपालिकाका मेयर बालेन्द्र साहसँग पनि भेटवार्ता गरेका छन् । भेटका क्रममा आफूले मेयर साहलाई नेपालगन्जमा आउन निम्तो दिएको र उनले पनि समय मिलाएर आउने आश्वासन दिएको मेयर विष्टले बताए ।

मेयर साहसँग फोहोर व्यवस्थापन र शौचालय व्यवस्थापनका सन्दर्भमा आइडिया आदानप्रदान गर्ने विषयमा पनि छलफल भएको उनले बताएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७९ असार १ गते बुधबार