नेपालगन्जमा विद्युत् समस्याः आम्दानी अर्ब, खर्च ५८ लाख



इन्जिनियर थापा नेपालगन्जलाई एकमात्र लाइनबाट पर्याप्त विद्युत् आउने गरी अहिलेको प्रणालीलाई स्तरवृद्धि गर्नु नै यस समस्याको उपयुक्त समाधान रहेको बताउँछन् ।

उनले भने, ‘नेपालगन्जलाई अरु ठाउँकै नजरले हेरेर अहिलेको समस्या समाधान हुँदैन । यहाँ आउनले लाइन र ट्रान्सफर्मरलाई एउटा मात्रै भरपर्दाे लाइनबाट विद्युत् आउने गरी अपग्रेड गर्नुपर्छ । त्यसको लागि ठूलो बजेटको आवश्यकता हुन्छ,’ उनले भने ।

वीरेन्द्र जैसी । नेपालगन्ज ।

विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रमा मासिक औसतमा १० करोड विद्युत् महसुल शुल्क संकलन हुन्छ । यसलाई वार्षिक हिसाब गर्दा एक अर्ब २० करोड पुग्छ । तर, नेपालगन्जमा विद्युत् समस्या आए मर्मतका लागि चालू आर्थिक वर्ष २०७८÷०७९ का लागि मात्र ५८ लाख रुपैयाँ नेपालगन्जले पाउँछ ।

अर्ब रकम पठाउने नेपालगन्जले मर्मतका लागि जम्मा लाख रकम पाउनु दुःखद् भएको स्थानीयको भनाइ छ । नेपालगन्जमा अघोषित लोड सेडिङ हुनुको प्रमुख कारण विद्युत् प्रसारण प्रणालीको स्तरवृद्धि नहुनु हो । नेपालगन्जमा विद्युत् प्रसारण प्रणालीको स्तरवृद्धि नहुँदा र केन्द्रबाट कम बजेट आउँदा विद्युत्मा विभिन्न समस्या आउने गरेको नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले जनाएको छ ।

विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका सहायक लेखा अधिकृत जगदिश पौडेलका अनुसार नेपालगन्ज वितरण केन्द्रले मासिक औसतका १० करोड विद्युत् शुल्क उठाउने गर्दछ । जति शुल्क उठ्छ त्यो सबै केन्द्रमा पठाइने उनले जनाए ।

‘यसअनुसार वार्षिक करिब एक अर्ब २० करोड शुल्क प्राधिकरणका लागि नेपालगन्जले मात्रै उठाएर पठाउँछ । तर यस क्षेत्रमा विद्युत् समस्या आएमा मर्मतका लागि चालू आर्थिक वर्ष २०७८/०७९ का लागि मात्र ५८ लाख मात्रै बजेट केन्द्रबाट प्राप्त भएको छ,’ उनले भने, ‘जुन बजेटले फ्युज फेर्न, पोल ढलमा मर्मत गर्न वा नयाँ पोल हाल्न र तार फेर्नमा मात्रै खर्च गर्नुपर्छ ।’

‘स्थानीय आवश्यकता ठूला कामहरु र स्तरवृद्धिको लागि उक्त बजेट आएको होइन । फ्युज फेर्न, पोल ढलमा मर्मत गर्न वा नयाँ पोल हाल्न र तार फेर्नमा मात्रै खर्च हुन्छ । उक्त बजेटले त्यति काम पनि गर्न अप्ठ्यारो हुन्छ,’ पौडेलले भने । यस कारण गर्मी लाग्नुभन्दा अघि नै मर्मत तथा सुधार गर्नुपर्ने कामहरु पनि हुन नसक्दा हरेक गर्मीमा नेपालगन्जवासीले समस्या भोग्नुपरिरहेको पाइएको छ ।

स्तरवृद्धि नहुँदा समस्या

पटकपटक विद्युत् जानु, विद्युत् सुचारु रहेकाबेला पनि पंखा र विद्युतीय सामान नचल्ने गरी कम भोल्टेज आउनु, अनियमित विद्युत्ले विद्युतीय साधन बिग्रनु, यी विद्युत्का कारण नेपालगन्जवासीहरुले भोग्दै आएका अहिलेका प्रमुख समस्या हुन् ।

यस वर्ष नेपालगन्जको तापक्रम ४० डिग्रीमाथि पुगिरहेको छ । तर पटकपटक विद्युत् गइदिँदा नेपालगन्जवासी आक्रान्त भएका छन् । नेपालगन्जका ७/८ वर्षयता विद्युत्को समस्या बढ्दै गएको छ । यसको प्रमुख कारण नेपालगन्जमा माग बढेअनुसार विद्युत् प्रसारण प्रणालीको स्तरवृद्धि नहुनु हो भने समयमै विद्युत् लाइनको मर्मत सम्भार हुन नसक्नु पनि अर्काे कारण हो ।

विद्युत् प्राधिकरण वितरण केन्द्रका इन्जिनियर विष्णुबहादुर थापा भन्छन्, ‘आम उपभोक्ताको तहबाट हेर्दा विद्युत् प्राधिकरणले भारतलाई बिजुली बेच्दै छ । तर नेपालगन्जमा विद्युत्को समस्या छ । यो के भइरहेको छ ? भन्ने होला । तर खास कुरो विद्युत् बोक्ने भाँडो नै सानो भएपछि अहिलेको समस्या निम्तिएको हो ।’ इन्जिनियर थापाका अनुसार दुइटा लाइनबाट नेपालगन्जमा विद्युत् आइरहेकोले ती लाइनको व्यवस्थापनमा आउने समस्याले पनि पटकपटक विद्युत् कटौती हुने गरेको छ ।

हाल नेपालगन्ज विद्युत् वितरण केन्द्रको क्षेत्रमा करिब ४५ मेगावाट विद्युत्को माग छ । तर, अहिले कोहलपुरदेखि नेपालगन्जको विद्युत् लाइनले करिब ३८ मेगावाट विद्युत् मात्रै धान्न सक्छ । तर, नेपालगन्जलाई मुस्किलले ३० मेगावाट विद्युत् आपूर्ति हुने गरेको इन्जिनियर थापाले बताए । नेपालगन्ज विद्युत् वितरण केन्द्रबाट हाल नेपालगन्ज, जानकी, खजुरा, नरैनापुरको पूरै भाग र राप्तीसोनारीको ३, ४ र ५ वडामा विद्युत् वितरण हुने गरेको छ । सबै किसिमका गरेर करिब ७० हजार विद्युत् ग्राहकहरु अहिले नेपालगन्जअन्तर्गत रहेका छन् ।

अहिले कोहलपुरसम्म १३२ केभी क्षमताको प्रसारण लाइनबाट विद्युत् आउँछ भने त्यसबाट नेपालगन्जमा ३३ केभीको डबल सर्किट लाइनबाट विद्युत् आउने गरेको छ । अर्काेतिर भारतको नानपाराबाट पनि ३३ केभी सिंगल लाइलनबाट विद्युत् आउँछ । कोहलपुरबाट नेपालगन्जलाई हाल बढीमा २० मेगावाट र भारतबाट बढीमा १० मेगावाट विद्युत् आउने गरेको छ ।

भारतको विद्युत् आवश्यक भएको बेला मात्रै प्रयोग गर्ने सम्झौता छ । यसमा पनि कहिले नेपालको लाइनबाट कम विद्युत् आउने र कहिले भारतको लाइनबाट कम विद्युत् आउँदा विद्युत् लाइन काटिने गरेको इन्जिनियर थापाले बताए ।

‘एक त आपूर्ति नै कम भइरहेको छ । त्यसैमाथि कहिले नेपालबाट आउने विद्युत् कम भयो भारतको वालाबाट थप्नुस् भन्ने हुन्छ । उताको थप्यो त्यसले पनि धान्दैन । फेरि नेपालको बढ्छ । भारतको काट्नुपर्छ । यसरी दुईवटा लाइनले पनि हाम्रोमा धेरैपटक कटौती हुने समस्या आइरहेको छ हो,’ उनले भने । माग बढी र क्षमता कम हुँदा ट्रान्सफर्मर र लाइन ओभरलोड भएर आफैँ बन्द हुने समस्या रहेको पनि उनले बताए ।

इन्जिनियर थापा नेपालगन्जलाई एकमात्र लाइनबाट पर्याप्त विद्युत् आउने गरी अहिलेको प्रणालीलाई स्तरवृद्धि गर्नु नै यस समस्याको उपयुक्त समाधान रहेको बताउँछन् । उनले भने, ‘नेपालगन्जलाई अरु ठाउँकै नजरले हेरेर अहिलेको समस्या समाधान हुँदैन । यहाँ आउनले लाइन र ट्रान्सफर्मरलाई एउटा मात्रै भरपर्दाे लाइनबाट विद्युत् आउने गरी अपग्रेड गर्नुपर्छ ।

त्यसको लागि ठूलो बजेटको आवश्यकता हुन्छ,’ उनले भने । नेपालगन्जको विद्युत्को समस्याबारे प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई यहाँ आएको बेला जानकारी गराइसकेको र उनीबाट पनि यसलाई गम्भीरतापूर्वक लिएको प्रतिक्रिया प्राप्त भएको इन्जिनियर थापाले बताए ।

४४ प्रतिशत कर्मचारी अभाव

विद्युत् प्राधिकरणको नेपालगन्ज वितरण केन्द्रमा पाँचजना इन्जिनियरको दरबन्दी हो । तर हाल कार्यालय प्रमुखसहित दुईजना इन्जिनियर मात्रै नेपालगन्जमा उपलब्ध छन् । त्यसमा पनि कार्यस्थलमा खटिने इन्जिनियर विष्णुबहादर थापा एकमात्र हुन् ।

‘एकातिर कामको चाप छ । अर्काेतिर सेवाग्राहीहरुले पनि समयमा सेवा पाउन मुस्किल छ,’ इन्जिनियर थापाले नयाँ कर्मचारी भर्ना गरेर भए पनि जनशक्ति बढाउनुपर्ने आवश्यकता औँल्याउँदै भने ।

वितरण केन्द्रमा प्राविधिकतर्फ एक सय एकजना कर्मचारीको दरबन्दी रहेकोमा मात्र ५४ जना कार्यालयमा उपलब्ध छन् । लेखा तथा प्रशासनतर्फ ५४ जनाको दरबन्दी रहेकोमा ३२ जनामात्र कार्यरत छन् ।

यसरी दरबन्दीको करिब ४४ प्रतिशत कर्मचारी कार्यालयमा छैनन् । करारमा सातजना र दैनिक ज्यालादारीमा ३३ जना राख्दा पनि २९ जना कर्मचारीको अभाव छ । कर्मचारी अभावका कारण आउने समस्याको समाधान पनि समयमै हुन नसक्ने अवस्था पनि स्वभाविकरुपमा रहेको पाइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ जेठ ३१ गते मंगलबार