१२ दिनपछि खुल्यो कांग्रेस बाँके पार्टी कार्यालयको ताला



नेपालगन्ज ।

नेपाली कांग्रेस बाँकेको पार्टी कार्यालयमा लगाइएको ताला १२ दिनपछि खुलेको छ । ताला खोल्ने विषयमा शनिबार भएको सहमतिअनुसार आइतबार बिहान करिब साढे १० बजे ताला खोलिएको हो ।

कांग्रेसको असन्तुष्ट पक्षले जेठ १८ गते विभिन्न माग राख्दै तालाबन्दी गरेको थियो । असन्तुष्ट पक्षका तर्फबाट कांगे्रेसका महासमिति सदस्य बादशाह कुर्मी, महाधिवेशन प्रतिनिधि सुदीपनरसिंह राणा, जिल्ला सदस्य अशोक श्रेष्ठ र भिमबहादुर विकले कार्यालयमा आफैँ पुगेर ताला खोलेका हुन् ।

तालाबन्दीका विषयमा असन्तुष्ट पक्षले बुझाएको ध्यानाकर्षणपत्रमा उल्लेख गरिएका विषय नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा विचाराधीन रहेको र यस विषयमा केन्द्रले गर्ने निर्णयमा दुवै पक्ष आइतबार सहमत भएका थिए ।

आगामी दिनमा पार्टीलाई विधि विधान र पद्धतिबमोजिम सबैको सम्मान हुने गरी सञ्चालन गर्ने गरी दुवै पक्ष सहमत पनि भएका छन् । यसबारे दुवै पक्षले केन्द्रमा आवश्यक पहल गर्ने पनि निर्णय भएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ जेठ ३१ गते मंगलबार