30 April 2024  |   मङ्लबार, बैशाख १८, २०८१

कोरोना संक्रमणबाट एमाले नेता यादव र डिएसपी केसीको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, जेष्ठ ६, २०७८  

कोहलपुर ।

नेकपा एमालेका पोलिटब्युरो समिति सदस्य योगनारायण यादवको कोरोना संक्रमणबाट कारण निधन भएको छ । एमाले धनुषाका सह–ईन्चार्ज समेत रहेका यादव मृगौला रोगबाट पीडित थिए । धनुषाको सबैला नगरपालिका बस्ने यादवको उपचार काठमाडौंस्थित मेडिसिटी हस्पिटलमा हुँदै आएको थियो ।

मृगौला प्रत्यारोपणका लागि उपचाररत रहेका नेता यादवलाई कोरोना संक्रमणका कारण मृगौला प्रत्यारोपण हुन नसकेको एमाले धनुषाका इन्चार्ज रामचन्द्र मण्डलले जानकारी दिए । ५७ वर्षीय नेता यादव विगत चार दिनदेखि उपचार हुँदै आएको थियो । तर आज विहान उनको हस्पिटलमै उपचारको क्रममा कोरोना संक्रमणबाट निधन भएको एमाले धनुषाका अध्यक्ष राजकिशोर यादवले बताए ।

उनको शवलाई नेपाली सेनाले हस्पिटलबाट लगेर दाहसंस्कार गर्नेबारे छलफल भइरहेको अध्यक्ष यादवले बताए । नेता योगनारायण यादवका दुई श्रीमती र दुई छोरा छन् । उनी राजनीतिमा सक्रिय हुनुपूर्व जिल्ला कृषि कार्यालयमा जेटिए पदमा कार्यरत्त थिए ।

सरकारी जागिर छाडेर उनी २०५० अघि नै नेकपा एमालेमा सक्रिय थिए । नेता यादव नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली निकट थिए ।

यसैबीच, कोरोना संक्रमणबाटै नेपाल प्रहरीका डिएसपी राजकुमार केसीको निधन भएको छ । गएराति नेपाल प्रहरी अस्पतालमा उनको निधन भएको हो । काठमाडौंको मूलपानी स्थायी घर भई महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत केसीलाई संक्रमण भएपछि प्रहरी अस्पतालमा भर्ना गरिएको थियो । केसी प्रहरी संगठनमा इमान्दार र दक्ष अधिकृतको रुपमा परिचित थिए ।

प्रकाशित मितिः बिहिबार, जेष्ठ ६, २०७८     10:00:33 AM  |