तिलक गाउँले
कोहलपुर, साउन १३
राप्ती नदिमा आएको बाढीमा फसेका होलीया २ चौफेरीका १ सय ४ जनालाई नेपाली सेनाको हेलीकप्टर मार्फत उद्धार गरिएको छ । मङ्गलबार बेलुकाबाट बाढीमा फसेका चौफेरी गाउँका स्थानीयलाई बुधबार दिउँसो सेनाको हेलीकप्टर मार्फत उद्धार गरिएको हो । यस्तै होलिया १ होलियाका काठको डुङगा द्वारा ४५ जनालाई उद्दार गरिएको बाँके प्रहरीको भनाई छ । घरबास सबै बाढीले डुबाएपछी पीडितहरु आफ्नो घरको छानामा बसेर ज्यान जोगाएको बताएका छन् । उनिहरु आफना बालबच्चा सहित छानामै रात बिताएका थिए । रातभर सम्म भोकभोकै रहेका उनिहरुले पिउने पानीको नल्का पनि नदिले डुवान गरेपछी राप्ती नदीकै पानी पिएर बाँचेको बताएका छन् । नेपाली सेनाको हेलीकप्टरबाट उद्धारपछी बाँकेको होलीया ५ प्रिप्रहवामा आईपुगेका चोफेरीका बासीन्दाहरुले आफनो घर गोठ सबै डुबेको बताएका छन् ।
राप्ती नदीमा आएको बाढीका कारण बाँकेमा बाढीमा फसेका ४९८ जनालाई मंगलबार नै सेनाकै हेलिकप्टर मार्फत उद्धार गरिएको थियो भने बुधबार १०४ जनाको पुनः हेलीकप्टर मार्फत नै उद्धार गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थले बताए ।
मङ्गलबार उद्धार गरिएकालाई सुरक्षित बसाईको ब्यबस्था गरिएपनि सबैजना आ–आफना आफन्तका घर घरमा गएको बताउँदै प्रमुख जिल्ला अधिकारी पन्थले बुधबार उद्धार गरिएकाहरुलाई नजिकै रहेको बिद्यालयमा बसोबासको ब्यबस्था मिलाइएको जानकारी दिए । उद्धार गरि ल्याएका पीडितहरुलाई नेपाल रेडक्रस सोसाईटी बाँकेले खाना तथा अस्थाई आवासको ब्यबस्था गरेको जनाएको छ ।
प्रकाशित मिति : २०७३ साउन १३ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्