मधूर पौडेल,बाँसगढी
बर्दियाको बाँसगढी नगरपालिकाले नगर क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार सुरु गरेको छ । बाँसगढीमा रहेका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार गर्नको लागि सार्वजनिक गाडीहरुमा जनचेतनामुलक पोस्टर टाँस्न सुरु गरिएको हो । देशभर बाँसगढी नगरपालिकामा रहेको सम्पदा चिनाउन तथा पर्यटन प्रवद्र्धनको लागि गाडीहरुमा जानकारीमुलक पोस्टरहरु टाँसिएको नगरप्रमुख शालिकराम अधिकारीले बताए ।
उनका अनुसार गाडीहरुमा पोस्टर टाँस्नुको मुख्य उद्देश्य बाँसगढीमा रहेका सम्पदाहरुको प्रचारप्रसार र पर्यटन प्रवद्र्धन गर्ने हो । नगरपालिकाले १५ वटा सार्वजनिक गाडीहरुमा पर्यटकीय स्थल बबई भ्याली, साँस्कृतिक धरोहरका रुपमा रहेका केदारेश्वर धाम लगायत १३ वटा सम्पदाहरु समावेश गरी पोस्टहरु टाँसेको छ ।
यस्तै बाँसगढी नगरपालिकामा विभिन्न खालका प्राकृतिक तथा साँस्कृतिक सम्पदाहरु रहेका छन् । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र, चेपाङ्ग गाउँ, मन्दिर,चर्च तथा गुम्बा जस्ता सम्पदा रहेको नगरप्रमुख अधिकारीको भनाई छ । थारु जातिको मौलिक सँस्कृतिले पनि यस क्षेत्रको विशिष्ट साँस्कृतिक पहिचानका रुपमा रहेको उनले बताए । ‘ बाँसगढीलाई चिनाउनको लागि पोस्टर टाँसिएको हो ।
सबै गाडीहरुमा टाँसिसकेको छ । यसबाट हाम्रा साँस्कृतिक सम्पदाको देशभर प्रचार हुने अपेक्षा गरेका छौ ।’ नगरप्रमुख अधिकारीले भने । यता बाँसगढी निवासी यातायात व्यवसायी सोमनाथ पौडेलले आफूहरुसँग पर्यटन प्रवद्र्धनका लागि सहकार्य गरेकोमा खुसी व्यक्त गरे । भे १ ख २०१७ नम्बरको गाडि सञ्चालन गर्ने उनले पनि ती पोस्टरहरु टाँसेका छन् ।









प्रतिक्रिया दिनुहोस्