कोहलपुरमा नेविसंघको विरोध प्रदर्शन



कोहलपुर 

नेपाल विद्यार्थी संघ बागेश्वरी क्याम्पस इकाई कार्य समितिले बलात्कारपछि घाँटी थिचेर हत्या गरिएकी बैतडीकी भागरथी भट्टको हत्यारालाई कारबाहीको माग गर्दै कोहलपुरमा विरोध प्रदर्शन गरेको छ । उक्त घटनाका दोषीलाई तत्काल सार्वजनिक गर्नुपर्ने माग सहित नेविसंघले बिहीबार कोहलपुरमा बृहत विरोध प्रर्दशन गरेको हो ।

विरोध प्रदर्शन बागेश्वरी क्याम्पसबाट सुरु भएर न्यूरोड, साँझ चोक हुँदै क्याम्पस गेटमा कोण सभामा परिणत भएको थियो । कोण सभामा बोल्दै नेपाल विद्यार्थी संघ बाँकेका अध्यक्ष पूर्ण प्रसाद आचार्यले भागरथी भट्टले कुनैपनि हालतमा न्याय पाउनुपर्ने बताए । उनका अनुसार कम्युनिस्ट शासन भएको देशमा बालिका र महिला असुरक्षित हुनुको लज्जाको विषय हो ।

उनले केपी ओलीलाई आफ्नो सत्ता जोगाउन मुस्किल परेको भन्दै सरकार अत्याचारका विरुद्ध आवाज बोल्न सक्ने अवस्थामा नरहेको बताएका थिए ।उनले बलात्कारपछि हत्या गरिएकी भट्टको न्यायका लागि नेविसंघ सडक संघर्षमा होमिएको समेत जानकारी दिए । उनका अनुसार नेपालमा दैनिक ६ जना किशोरी तथा महिला बलात्कृत हुन्छन् । प्रधानमन्त्री केपि शर्मा ओलीले हत्या,हिंसा बलत्कारका घटनामा संलग्नलाई बालुवाटारमा संरक्षण गरिरहेको पनि उनको भनाइ थियो ।

कोण सभामा बोल्दै नेपाल विद्यार्थी संघ बागेश्वरी क्याम्पसका इकाई सभापति रामप्रसाद पाण्डेले बलात्कारीहरुलाई न्याय दिनको लागि युवाहरु सडकमा आएको बताएका थिए । उनका अनुसार भागरथी भट्टको हत्या प्रकरणका दोषीलाई तत्काल कारबाही हुनैपर्छ । उक्त विरोध प्रदर्शनमा बागेश्वरी क्याम्पस र न्यू बागेश्वरी क्याम्पसमा अध्ययनरत विद्याथीहरुको सहभागिता रहेको थियो ।

उनीहरुले न्यायको माग गर्दै सरकारका विरुद्ध नाराबाजी समेत गरेका थिए । यस्तै भागरथी भट्टको आत्माको चिरशान्तिको लागि कोहलपुर जेसीजले दिप प्रज्वलन गरेको छ । बलात्कारपछि हत्या गरिएकी भट्टको दोषीलाई तत्काल कारवाही गर्नका लागि कोहलपुर जेसीज वर्ष २०२१ र कोहलपुर जुनियर जेसीज वर्ष २०२१ ले दीप प्रज्वलन समेत गरेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७७ माघ ३० गते शुक्रबार