माछा बेच्नेदेखि टिकटक बनाउनेसम्म ?



शुभाकर विश्वकर्मा, कोहलपुर

नेपालगञ्ज–१२का रोशन साहनी कर्णाली पुलमा सेल्फी खिच्न व्यवस्त देखिन्थे । पहिलोपटक नेपालकै सबैभन्दा लामो मध्येको एक कर्णाली पुलमा श्रीमतीसँगै घुम्न गएका थिए,उनी । त्यहाँ दर्जनौ व्यक्तिहरुको आफ्नै सुरमा विभिन्न हाउभाउमा देखिन्थे । कोही फोटो खिच्दै, कोही टिकटक बनाउँदै नाचिरहेका थिएँ । के बालक, के युवा, युवा हुन या बृद्धाबृद्धा सबैमा एकप्रकारको उमंग देख्न सकिन्थ्यो त्यहाँ । साहनीले आफू काठमाडौमा काम गर्ने र छुट्टीको समयमा बुढाबुढी कर्णाली पुलमा घुम्ने र रमाइलो गर्ने उद्देश्यले आएको बताए । उनका अनुसार कोरोना कहरपछि पहिलोपटक यसरी घुम्न निस्किएको हो ।

‘लामो समय कतै जान पाइएको थिएन । अहिले जहाँपनि यहाँ कै चर्चा सुनिन्छ । त्यसैले हामी घुम्न आएका हौँ । धेरै रमाइलो लागि रहेको छ ।’ उनले भने । उसो कर्णाली पुल र यहाँको आकर्षण विशेषता बारेमा उनी अन्जान भने थिएनन् । तर औँपचारिक रुपमा यसरी घुम्ने अवसर मिलेको थिएन । आफ्नो मनको ढुकढुकीसँग रमाइलो गर्दा खुसीको सीमा नै नभएको उनको भनाइ छ । साहनी मात्रै होइन धनगढीका सुवास चौधरी पनि साथीहरुसँग फोटो खिच्न र पोज दिनमै व्यस्त थिए । उनीहरु ६ जनाको समूहमा धनगढीबाट गाडीमा यात्रा गरेर आएका थिए। गाउँमा ज्यालादारी गर्ने सुवास शनिबारका दिन साथीहरुले घुम्न जाउँ भनेपछि आफूपनि आएको बताए । उनका अनुसार कर्णाली पुल घुम्ने, चिसापानीको मिठो परिकार माछा खाने नै भ्रमणको मुख्य उद्देश्य थियो ।

उनीसँगै आएका अमर रानाले पनि धनगढीबाट गाडीमा पटक पटक ओहोरदोहोर गरेपनि प्रत्यक्ष रुपमा पहिलो पटक आएको बताए । पहिलोपटक पुल अवलोकन र साथीहरुसँग रमाउन पाउँदा निकै खुसीको अनुभूति भइरहेको उनको भनाइ छ । साहनी, चौधरी र राना त प्रतिनिधि उदाहरण मात्रै हुन् । यहाँ हरेक दिन दर्जनौको संख्यामा विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक आउने गर्दछन् । त्यहाँका स्थानीयहरुका अनुसार बाँके, बर्दिया र कैलाली जिल्लाबाट सबैभन्दा बढी आन्तरिक पर्यटकहरु आउने गरेका छन् । त्यहाँ आउनेहरुले मुख्यत कर्णाली पुलको अवलोकन, त्यहाँका स्थानीय परिकार खाने र रमाइलो गर्ने गर्दछन् ।

नेपालका सबै भन्दा लामो पुल मध्येको एक कर्णाली पुल पछिल्ला केही वर्षयता आन्तरिक पर्यटकीय क्षेत्रका रुपमा विकास हुँदै गएको छ । चिसापानी क्षेत्रमा बढ्दो सहरी तथा व्यापारीकरणले आर्थिक रुपमा मात्रै होइन पर्यटकीय दृष्टिले समेत उत्कृष्ठ गन्तव्यका रुपमा विकास हुँदै गएको छ । उक्त क्षेत्रमा व्यवसाय गर्दै आएका व्यापारी ज्ञानबहादुर थारु चिुसापानीको प्रमुख आकर्षक माछा भएको समेत बताउँछन् । यहाँ आउने बिरलै मानिस माछा नखाएर जान्छ । उनले पनि त्यहाँ व्यापार गर्न थालेको दुई वर्ष भयो ।

ग्राहकहरुको पहिलो रोजाइ नै माछा बन्ने गरेको छ ।‘यहाँको माछाको बजार राम्रो छ । ग्राहक तथा यहाँ घुम्नहरुको लागि आउनेहरुको मुख्य माग नै माछा हुने गर्दछ । कर्णाली पुलका कारण यहाँ दैनिक मानिसहरुको भीड लाग्ने गर्दछ ।’ मिसन टुडे दैनिकसँग कुराकानी गर्दै उनले भने । यहाँका फुटपातमा समेत माछा बेच्नेहरु थुप्रै भेटिन्छन् । चिसापानी क्षेत्रमा २० देखि २५ जना सम्मले माछा बेच्नै आएका छन् । माछा बेच्नेहरुमा बालक देखि युवासम्म छन् । उनीहरुको दैनिक रोजीरोटी नै माछा हुने गरेको छ ।

प्रकाशित मिति : २०७७ माघ २५ गते आइतबार