पसलबाटै‘नक्कली लाइसेन्स’



नेपालगन्ज ।

नक्कली लाइसेन्स बनाउने गरेको शंकामा प्रहरीले बाँकेको नेपालगन्जस्थित फेवा फोटोकपी तथा मोबाइल रिपेयरिङ सेन्टरमा छापा मारेको छ । वडा प्रहरी कार्यालय नेपालगन्जबाट खटिएको टोलीले त्रिभुवनचोकमा रहेको पुरानो टाङ्गा स्टेशनस्थित पसलमा शनिबार दिउँसो छापा मारेको हो ।

शुक्रबार ‘स्लो बाइक प्रतियोगितामा’ भाग लिन आएका एक जनाको लाइसेन्स चेकजाँचको क्रममा शंका लागेपछि पसलमा छापा मारिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

‘एक जनाको लाइसेन्स शंका लागेर अनुसन्धान गर्दै जाँदा पसलमा प्रहरीले छापा मारेको हो’ बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास खड्काले भने । उनका अनुसार छापा मारेर प्रहरीले सञ्चालकसहित यातायात व्यवस्था कार्यालय सम्बन्धी केही कागजपत्रहरु समेत नियन्त्रणमा लिएको छ ।

‘केही आधारहरु हेर्दा त शंका गर्ने ठाउँहरु रहेका छन् । हामी अनुसन्धान गर्दछौं’ उनले मिसन टुडेसँगको कुराकानीमा भने, ‘अहिले नै नक्कली लाइसेन्स बनाइदिने भनिहाल्ने अवस्था छैन । शंका लागेकाले केही व्यक्तिहरु ल्याएर छानबिन गर्दैछौं ।

वास्तविकता के हो पत्ता लगाउँछौं ।’ पहिले शंका गरिएको स्मार्ट लाइसेन्स नक्कली हो की होइन भनेर पत्राचारको लागि यातायात कार्यालयमा हेर्ने काम भइरहेको प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिए ।

यसभन्दा अघि समेत नेपालगन्जका केही होटल तथा पसलहरुमा सवारी चालक अनुमति पत्र (लाइसेसन्स) बनाउने गरेको खुलेको थियो ।

खासगरी अन्य जिल्लाबाट आएका सेवाग्राहीबाट मोटो रकम असुल गरेर केही गिरोहले नेपालगन्जमा लाइसेन्स वितरण गर्ने गरेको बताइन्छ । सोही कारणले पनि बाँके प्रहरीले यो प्रकरणलाई सुक्ष्म रुपले अनुसन्धान गरिरहेको जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ माघ ११ गते आइतबार