अवैध सामाग्री बरामद



नेपालगन्ज ।

भारतबाट भन्सार छली गरेर ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले सीमा क्षेत्रबाट अवैध सामाग्रीहरु बरामद गरेको छ ।

सशस्त्र प्रहरीको कालाबन्जार बिओपीबाट सशस्त्र प्रहरी नायब निरीक्षक भिम कठायतको कमाण्डमा खटिएको टोलीले अवैध सामानहरु बरामद गरेको हो ।

नेपालगन्ज उप–महानगरपालिका १५ पिप्रहवामा भन्सार छली गरी भारतबाट ल्याउदै गरिएको अवैध हार्डवयरका सामाग्रीहरु सशस्त्रको टोलीले बरामद गरेको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले जनाएको छ ।

बरामद गरिएका अवैध सामाग्रीहरुको मूल्य १ लाख ८४ हजार रुपैयाँ रहेको सशस्त्र प्रहरी कालाबन्जार बिओपीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक सन्तोष डाँगीले जानकारी दिए ।

‘गस्तीमा खटिएको हाम्रो टोलीले भन्सार छली गरेर नेपाल भित्र्याउँदै गरेको अवस्थामा सामानहरु बरामद गरेको हो’ उनले भने, ‘बरामद सामानहरुलाई आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको छ ।

सशस्त्र प्रहरीलाई देख्नेवित्तिकै सामानहरु छोडेर तस्करहरु भारततर्फ नै भागेको बताइएको छ ।

कालाबन्जार बिओपीले ३ महिनाको अवधीमा ३५ लाख बराबरका अवैध सामाग्री बरामद गरि नेपालगन्ज भन्सार कार्यालय बुझाएको सशस्त्र प्रहरी निरीक्षक डाँगीले जानकारी दिए ।

जमुनाहा नाका बन्द हुँदा पोके तस्करहरुले समेत खुल्ला सीमानाको फाइदा उठाउँदै तस्करीलाई यथावत् नै राखेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७७ पुस ८ गते बुधबार