सेवाग्राहीलाई मध्यनजर गरेर जिल्ला प्रशासन कार्यालय बाँकेमा सुविधा सम्पन्न ‘सेवाग्राही कक्ष’ को स्थापना गरिएको छ । सेवाग्राही कक्षको बुधबार नेपालगन्ज उपमहानगरका मेयर डा. धवलशमसेर राणाले उद्घाटन गरेका थिए ।
उनले सो अवसरमा यसले कार्यालयमा हुने अनावश्यक भिडभाडमा कमी भई छिटो छरीतो र सहज तरिकाले सेवा प्रवाह हुने बताए ।
खासगरी नागरिकता, राहदानी वितरण लगायतका सेवा प्रवाह गर्दा भिडभाड हुने भएकोले त्यसको व्यवस्थापनका लागि टोकन प्रणाली सिस्टम लागु गर्नुका साथै सेवाग्राही कक्ष संचालनमा ल्याईएको प्रशासन कार्यालयले जनाएको छ ।
सरकारी संरचना र व्यवहारहरु सेवाग्राहीमैत्री नभएको भन्दै शासन प्रकृया जनमैत्री र जनउत्तरदायी बनाउन सेवाग्राहीको सहजताका लागि सेवाग्राही कक्ष संचालनमा ल्याईएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए ।
कुल ३६ लाखको लागतमा संचालनमा आएको सेवाग्राही कक्ष स्थापनाका लागि नेपालगन्ज उप–महानगरपालिकाका २३ वटै वडाहरुले सहयोग गरेको उनले बताए । सेवाग्राही कक्ष संचालन गरी टोकन प्रणाली लागू गरेपछि कार्यालयमा सेवा लिन आउने सेवाग्राही समेत खुसी भएका छन ।
टोकन प्रणालीमा बास नेपालगन्जले सहयोग गरेको छ भने पिउने पानी सहितको १०० जना क्षमताको अत्याधुनिक सेवाग्राही कक्षमा वडा कार्यालयहरुको सहयोग रहेको छ ।
‘हरेक सरकारी कार्यालयमा कार्यालय प्रमुखदेखि सहयोगीसम्म सबैको बस्ने ठाउँ हुन्छ’ प्रजिअ कुरुम्बाङले भने, ‘सेवाग्राहीका लागि बस्ने ठाउँ नहुने समस्या देखिएकाले सेवाग्राहीको सुबिधाका लागि उप–महानगरपालिकाका सबै वडाहरुको सहयोगमा एसीसहितको सुबिधा सम्पन्न कक्षको स्थापना गरिएको हो ।’










प्रतिक्रिया दिनुहोस्