किशोरीहरुलाई सञ्चार सीप तालिम



कोहलपुर ।

बाँकेको बैजनाथ गाउँपालिकाका किशोरीहरुलाई सञ्चार सीप तालिम दिइएको छ ।

प्लान इन्टरनेशनल नेपालको सहयोगमा सामाजिक सचेतन सरोकार मञ्च (स्याक नेपाल) बाँकेले बैजनाथ गाउँपालिकाको एकता किशोरी क्लबका पदाधिकारी र सदस्यलाई तालिम दिइएको हो ।

तालिममा किशोरीहरुले सञ्चार, सञ्चार प्रक्रिया, किशोरीले सार्वजनिक गर्नुपर्ने सूचना, किशोरी क्लबको सार्वजनिक सञ्चार, सञ्चार गर्ने विधि, सरोकारवाला, सरोकारवालासँग सञ्चार विधि, विज्ञप्ती लेखनलगायतका विषयमा सैद्धान्तिक जानकारी र व्यवहारिक अभ्यास गरेका थिए ।

तालिम समापनकोे अवसरमा स्याक बाँकेकी उपाध्यक्ष सरस्वती बुढाले बाल विवाह न्यूनिकरणका लागि किशोरीको क्षमता वृद्धिका लागि संस्थाले विभिन्न तालिम दिएको बताइन् । उनको आग्रह थियो, ‘किशोरी क्लबका सदस्य बाल विवाहविरुद्धका सामाजिक अभियन्ता हुन् । तपाईहरु समाज परिवर्तन गर्न लाग्नु भएको छ ।

आफै पनि २० वर्ष नपुगेर बिहे नगर्नु होला र अरुको बिहे हुन नदिन भूमिका निर्वाह गर्नुहोला ।’

कार्यक्रमका तालिमका प्रशिक्षक अन्नपूर्ण पोस्ट् दैनिकका उप–सम्पादक शंकरप्रसाद खनाल र स्याक सहजकर्ता बविता सिंहले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न सकेमा मात्र सार्थक हुने बताएका थिए ।

सहभागी जुना सुनारले तालिमबाट बाल विवाह न्यूनिकरणका लागि प्रभावकारी सञ्चार विधि सिकेको बताइन् । एकता किशोरी क्लबकी अध्यक्ष अनु रावतले क्लब गठन भएको २ वर्षको अवधिमा १८ वटा बाल विवाह रोकेको जानकारी दिएकी थिइन् ।

तालिममा एकता किशोरी क्लबका पदाधिकारी र सदस्यलाई १४ जनाको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७७ कात्तिक २५ गते मंगलबार