देउखुरीमा भुकम्पीय जोखिम मापन गरिदै



शिवु खनाल । दाङ ।

लुम्बिनी प्रदेशको स्थायी राजधानी तोकिएको दाङको भालुवाङ क्षेत्रमा भुकम्पीय जोखिम मापन गर्न थालिएको छ ।

राजधानीको व्यवस्थापनको लागि विभिन्न अध्ययन अनुगमनसँगै त्रिभुवन विश्वविद्यालय भुगर्वशास्त्र केन्द्रिय विभागद्धारा देउखुरीको राप्ती गाउँपालिका, अर्घाखाँचीको शितगंगा नगरपालिकाको वडा नम्बर ८ र ९ साथै गढवा गाउँपालिको वडा नम्बर १ रङसिङ क्षेत्रमा भुकम्पीय जोखिम मापन गरिएको हो ।

भुगर्वशास्त्रि डाक्टर सुमन पन्थी, डाक्टर सुवेश घिमिरे र डाक्टर कमलाकान्त आचार्यको संयुक्त टोलिले ईलेक्ट्रीकल रेजिस्टीभीटी सर्भेको माध्यमबाट भौगोलिक अवस्थाको अध्ययन तथा विभिन्न प्रकृतिका कम्पन्नको सहनशिलताका बारेमा अध्ययन गर्नेछ ।

अध्ययन टोलीमा सहभागी भुगर्व शास्त्री डाक्टर सुवेस घिमिरेले लुिम्बनी प्रदेशको राजधानी दाङ देउखुरीको भालुवाङ क्षेत्रका आसपासमा म्यान्टलको माथिल्लो सतहको अवस्था, म्यान्टलमा ताप र चापको फरकले गर्दा कन्भेक्सन करेन्टहरु पैदा हुने तरङ्को कारण र अवस्थाका बारेमा अध्ययन गरिएको बताए ।

‘भुकम्पीय जोखिम मापनका लागि उच्च स्तरको भियस ३० र रिजोनेश फ्रिक्युन्सीका मापनमा ११ वटा लो फ्रिक्युन्सी जीयोफोनको प्रयोगगरि सेस्मोग्राफको माध्यमबाट धेरै टाढावाट आउने पृथ्वीको कम्पनलाई पत्ता लगाउन यो विधाको प्रयोग गरिएको हो’ उनले भने ।

भुगर्वशास्त्रि डाक्टर सुमन पन्थीले लुम्बिनी प्रदेशका लागि आगामी दिनमा ठूला भौतिक संरचना निर्माण हुने हुँदा जमिनको भु–बनौटको बारेमा जानकारी हुनु आवश्यक रहेको दाबी गरे ।

आगामी दिनमा निर्माण हुने संरचना र जमिनको बीचमा रहेको अन्तर सम्बन्धलाई बलियो बनाउन पनि यो अनुसन्धान गरिएको भुगर्भ शास्त्रि उनले बताए ।

राप्ती नदीको तटिय जमिनको अवस्था र तराई, मधेश, पहाड, भौगोलिक अवस्था तथा तल्लो भागमा रहेको जमिनको अवस्था फरक रहने हुँदा राप्ती गाउँपालिका क्षेत्र, अर्घाखाँचीका शितगंगा नगरपालिका वडा नम्बर ८ र ९ साथै गढवा गाउँपालिकाको वडा नम्बर १ रङसिङ क्षेत्रको भुकम्पीय जोखिम मापन पश्चात विश्वविद्यालयले सरोकारवालाहरुलाई जानकारी प्रवाह गर्ने बताइएको छ ।

शनिबार मात्रै प्रदेश विकास प्राधिकरणको टोली राजधानी व्यवस्थापनको लागि आवश्यक पर्ने भौतिक संरचनाको र जग्गाको स्थलगत अवलोकन गरी फर्केको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७७ असोज २७ गते मंगलबार